कोरोना देखिएपछि सल्यानका तीन विद्यालय बन्द

सफल खबर संवाददाता

आइतबार, ११ माघ २०७७, १३ : ५६
कोरोना देखिएपछि सल्यानका तीन विद्यालय बन्द

सुर्खेत । शिक्षक र विद्यार्थीमा कोरोना भाइरस कोभिड–१९ को संक्रमण देखिएपछि सल्यानका तीनवटा विद्यालय बन्द गरिएको छ ।

बनगाड कुपिन्डे नगरपालिकामा रहेका तीन विद्यालयका शिक्षक र विद्यार्थी गरी १६ जनामा संक्रमण देखिएपछि एक साताका लागि विद्यालयहरु बन्द गरिएको नगर प्रमुख गोविन्द पुनले जानकारी दिए ।

नगर प्रमुख पुनका अनुसार प्रभाकर माध्यमिक विद्यालय देवस्थल, मुक्ति माध्यमिक विद्यालय हिले पोखरी र गंगा प्राथमिक विद्यालय बन्द गरिएको हो । तीनवटा विद्यालयका ४६ जनाको स्वाब संकलन गरी पीसीआर परिक्षण गर्दा शिक्षक र विद्यार्थी गरी १६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

विद्यालयका सबै शिक्षक र विद्यार्थी कोरोनाको उच्च जोखिममा पर्ने देखिएपछि विद्यालय बन्द गरिएको नगर प्रमुख पुनले बताए । तीनवटै विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना हुनसक्ने सम्भावना देखिएपछि सबैजनाको स्वाव संकलन गरी पीसीआर परीक्षणका लागी सुर्खेत पठाइएको छ ।

शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि तत्कालका लागि पठनपाठन पूर्ण रुपमा प्रभावित भएको र सबैको रिपोर्ट नेगेटिभ नआउँदासम्म विद्यालय सञ्चालन गर्न नसकिने पुनले बताए ।

कोरोना देखिएकालाई होम आइसोलेसनमा बस्न र संक्रमित परिवारलाई आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न सुझाइएको नगरपालिकाका स्वास्थ्य संयोजक बासुदेव पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस