पर्वत । नेपाल विद्युत् प्राधिकरणले पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा निर्माण गरेको २२० केभी क्षमताको सवस्टेशनको गए रातिदेखि चार्ज गर्न शुरु भएको छ । सवस्टेशनमा जडान भएका उपकरण र प्रसारण लाइन चार्जका लागि गए राति १० बजेदेखि परीक्षण शुरु गरेको कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजनाले जनाएको छ ।
आयोजनाका सहायक निर्देशक महादेव भट्टराईले भौतिक संरचना निर्माण र आन्तरिक परीक्षण सकेर सवस्टेशन चार्ज शुरु गरेको जानकारी दिए । सवस्टेशन चार्जको परीक्षण अवधि २४ घण्टाको हुने भएको छ । पर्वतको मोदी–चुवा हुँदै खुर्कोटसम्म १३२ केभी विद्युत् ल्याएर सवस्टेशनको टान्सफर्मर चार्ज शुरु गरिएको हो ।
आयोजनाका सहायक प्रबन्धक लक्ष्मण फुयाँलले खुर्कोटको सवस्टेशनको परीक्षण सफल र ट्रान्सफर्मर चार्ज भएपछि म्याग्दीको दाना सवस्टेशन चार्जको प्रक्रिया अघि बढाइने बताए । स्थानीय आयोजनाबाट उत्पादित विद्युत् कम क्षमताको भएकाले पर्वतको मोदी–चुवा–खुर्कोट हुँदै दाना सवस्टेशनमा लाइन जोडेर चार्ज गर्न लागिएको हो ।
दाना सवस्टेशनअन्तर्गत पाँच मेगावाट क्षमताको घलेम्दी खोला र १३।४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना चालू छन् । बयालीस मेगावाट क्षमताको मिस्ट्रिखोला परीक्षण उत्पादनको तयारीमा छ । सवस्टेशनको ट्रान्सफर्मर चार्ज र परीक्षण सफल भएपछि केन्द्रीय ग्रिडमा जोडिने आयोजनाले जनाएको छ ।
सवस्टेशन चार्ज गर्नका लागि आयोजनाका कर्मचारी गए राति १० बजेसम्म खुर्कोटमा बसेर काम गरेका थिए । खुर्कोटस्थित सवस्टेशन चार्जमा उपस्थित हुनुभएका नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका निर्देशक तारा प्रधानले सवस्टेशन चार्ज प्रसारण लाइनको एउटा महत्वपूर्ण उपलब्धि भएको बताए । उनले खुर्कोट सवस्टेशनको परीक्षण सफल भएकामा खुशी व्यक्त गर्दै त्यहाँबाट दाना सवस्टेशनसम्म १३२ केभी लाइनबाट विद्युत् पठाएर त्यहाँको ट्रान्सफर्मर पनि चार्ज गर्ने तयारी भएको बताए ।
नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना र पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा सवस्टेशन तथा दुई ठाउँ जोड्ने ३९।६ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरेको छ । एक सय १० वटा टावर निर्माण भएको छ । खुर्कोटदेखि पर्वतको कुश्मा नगरपालिका–८ चुवामा निर्माण भएको १३२ केभी क्षमताको सवस्टेशन जोड्ने छ किलोमिटर लामो प्रसारण लाइनको परीक्षण सफल भइसकेको छ ।
म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी तथा सहायक नदी र मुस्ताङमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय ग्रिडमा जोड्न एशियाली विकास बैंकको सहयोगमा प्रसारण लाइनका साथै दाना र खुर्कोटमा सवस्टेशन निर्माण भएको आयोजना प्रमुख चन्दनकुमार घोषले बताए । प्रसारण लाइन र सवस्टेशन बनाउन सन् २०१६ मा रु दुई अर्ब ९० करोडमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग नेपाल विद्युत् प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०९ माघ २०७७, १३ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ढल्केबर सबस्टेसनबाट विद्युत आपूर्ति शुरू
प्रतिकुल मौसमका कारण विद्युत् अवरुद्ध भएको हो, लोडसेडिङ भएको होइनः विद्युत् प्राधिकरण
संसद् बैठक अझै बस्न सकेन
विद्युत् प्राधिकरणको सञ्चालकमा दुई सदस्य नियुक्त
१५ दिनभित्र विद्युतको बक्यौता रकम नउठे प्रक्रिया अनुसार अघि बढ्छौँ : कुलमान घिसिङ
पत्रकार सम्मेलन गर्दै कुलमान घिसिङ