चितवनमा मसाल जुलुसमा प्रहरी हस्तक्षेप : २ पक्राउ, १३ घाइते

नेकपा चितवनद्वारा प्रहरी हस्तक्षेपको भत्सर्ना

सफल खबर संवाददाता

विहीबार, ०८ माघ २०७७, २२ : ०३
चितवनमा मसाल जुलुसमा प्रहरी हस्तक्षेप : २ पक्राउ, १३ घाइते

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमको विरोधमा चितवनको नारायणगढमा निकालिएको मसाल जुलुसका क्रममा प्रहरी हस्तक्षेप भएको छ । नेकपाको युवा दस्ता राष्ट्रिय युवा संघले निकालेको मसाल जुलुसका क्रममा बिहीबार साँझ प्रहरी हस्तक्षेप भएको हो । 

सो क्रममा प्रहरीको लाठी प्रहारबाट १३ जना घाइते भएका छन् भने २ जना पक्राउ परेका छन् । 
घटनाको विरोध गर्दै नेकपा चितवनले एक विज्ञप्तिमार्फत घोर भत्सर्ना गरेको छ । विज्ञप्तिमा पक्राउ परेका युवा नेताहरु भानु न्यौपाने र विशाल कँडेललाई विनाशर्त रिहा गर्न माग गरिएको छ भने प्रहरीको लाठी प्रहारबाट घाइते भएका रुकु बस्नेत, सुसन पौडेल, अंकित दवाडी, राजु भुसाल, अविरल पोखरेल, निर्मल दवाडी, सन्देश अधिकारी, सागर पुरी, अविनाश रम्तेल, नीरज सापकोटा, मनोज नहर्की, रोहित सुवेदी र वीरेन्द्र खरेलको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

जिल्ला अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलले जारी गरेको विज्ञप्तिमा शान्तिपूर्ण आन्दोलन संविधान प्रदत्त अधिकार भएको भन्दै जनताको बोल्न पाउने अधिकारको सम्मान गर्न जोडदार माग गरिएको छ । 

प्रधानमन्त्री ओलीले संसद विघटन गरेको विरोधमा शुक्रबारका लागि तय भएको विशाल प्रदर्शनको पूर्वसन्ध्यामा नारायणगढमा मसाल जुलुस निकालिएको हो ।

प्रतिक्रिया दिनुहोस