नेपाल टेलिकमका ग्राहकले नागरिक एप प्रयोग गर्न सक्ने

सफल खबर संवाददाता

मंगलबार, ०६ माघ २०७७, १८ : ००
नेपाल टेलिकमका ग्राहकले नागरिक एप प्रयोग गर्न सक्ने

काठमाडौँ । नेपाल सरकारले परीक्षणका रुपमा प्रयोगमा ल्याएको नागरिक एप नेपाल टेलिकमका ग्राहकहरुले आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बरबाट प्रयोग गर्न सक्ने टेलिकमले जनाएको छ । 

नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै टेलिकमका अधिकांश ग्राहकको सिम आफ्नै नाममा दर्ता भएतापनि केही ग्राहकहरुले अरुको नाममा रहेको सिम प्रयोग गरिरहेको अवस्था विद्यमान रहेको जानकारी दिएका छन् ।

कम्पनीका ग्राहकहरुले *922# डायल गरेर आफूले प्रयोग गरिरहेको सिमकार्ड आफ्नो नाममा छ/छैन र नामको हिज्जे सही छ÷छैन निक्र्यौल गर्न सकिने विज्ञप्तिमा उल्लेख छ । सिमकार्ड आफ्नो नाममा नरहेमा विवरण अद्यावधिक वा नामसारी गर्न तथा आफ्नो नामको हिज्जे सही नभएमा सच्याउनका लागि नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नु पर्ने नेपाल टेलिकमले जनाएको छ । 

प्रिपेड सिमकार्ड ग्राहक विवरण अद्यावधिक

अरुको नाममा रहेको प्रिपेड सिमकार्ड लामो समयदेखि आफैँले प्रयोग गरिरहेको अवस्थामा आफ्नो सक्कल नागरिकताको प्रमाणपत्र, सोको फोटोकपी र एक प्रति फोटो लिएर नजिकैको दूरसञ्चार कार्यालयमा उपस्थित भई कबुलियतनामाको फाराम भरी अद्यावधिक गर्न सकिन्छ । साथै, विगत ६ महिनाभित्र उक्त सिमकार्डबाट भएका केही कलहरु सोही समयमा भेरिफाई गर्नुपर्दछ ।

पोस्टपेड सिमकार्ड ग्राहक विवरण अद्यावधिक तथा नामसारी

पोस्टपेड सिमकार्ड नामसारीका लागि हाल सिमकार्ड प्रयोग गरिरहेको व्यक्ति र कम्पनीको अभिलेखमा भएको प्रयोगकर्ता दुवै व्यक्ति दूरसञ्चार कार्यालयमा उपस्थिति हुनुपर्दछ । अभिलेखमा सिमकार्ड प्रयोगकर्ताको नाम भएको व्यक्ति उपस्थित हुन नसक्ने भएमा उक्त व्यक्तिको नागरिकता प्रमाणपत्रको फोटोकपी र वारेसनामा आवश्यक पर्दछ । साथै, सिमकार्ड प्रयोग गरिरहेको व्यक्तिको नागरिकताको सक्कल प्रमाणपत्र, सोको फोटोकपी र एक प्रति फोटो आवश्यक पर्दछ । संस्थाको हकमा दुवै संस्थाको प्यान नम्बर तथा दर्ताको कागजात आवश्यक पर्दछ । यी कागजातहरु लिई दूरसञ्चार कार्यालयमा उपस्थित भई नियमानुसार नामसारी गर्न सकिन्छ । 

नागरिक एपबाट सेवा प्राप्त गर्न सम्बन्धित व्यक्तिले आफ्नो नागरिकता प्रमाणपत्र, मतदाता परिचयपत्र वा राहदानीमध्ये कुनै एकको विवरण उल्लेख गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस