प्रधानमन्त्री ओलीकै कारण सुवास नेम्बाङ, शंकर पोख्रेल र विष्णु पौडेलको राजनिति भविष्य अन्धकार उन्मुख

जनताले लडेर स्थापित गरेको गणतन्त्रलाई पनि राजतन्त्रको नयाँ रूपमा परिभाषित गर्न उद्यत

सफल खबर संवाददाता

शनिबार, ०३ माघ २०७७, ०९ : ५६
प्रधानमन्त्री ओलीकै कारण सुवास नेम्बाङ, शंकर पोख्रेल र विष्णु पौडेलको राजनिति भविष्य अन्धकार उन्मुख

काठमाडौँ । असंवैधानिक रुपमा प्रतिनिधीसभा विघटन गरेका प्रधानमन्त्री केपी ओलीले राजनीतिक रूपमा सम्बन्ध विस्तार गर्नुको साटो अराजनीतिक तवरले खुफिया एजेन्सीका मान्छेसँग भए नभएका सौदाबाजी गरेर  देशलाई भड्खालोमा हालेको आरोप लाग्दै आएको छ । उनले त्यति मात्रै हैन, संविधान, कानुनी, विधि र प्रक्रियाको समेत धज्जी उडाएका छन् । अराजनीतिक हर्कत तथा गैरसंवैधानिक गतिविधि गरेर मुलुकलाई अराजकताको मार्गमा लगेर ओलीले राजनीतिक एवं संवैधानिक रूपमा कलङ्कको टीका त लगाएका छन् नै त्योभन्दा बढी अब उनी क्रमशः पतनको यात्रामा लागेका राजनितिक बृत्तमा चर्चा छ ।

 ओलीको अराजक गतिविधिमा सती जानका लागि केही मानिस पनि उनको पछाडि लागेका छन् । राजनीतिक रूपमा क्षमता भएर आगामी दिनमा देशलाई नेतृत्वसमेत दिन सक्ने क्षमता भएका मानिस समेत उनको गैरकानुनी कामलाई छाद हाल्दै आफ्नै नैतिकता समेत खडेरीमा चुर्लुम्म डुबेका छन् ।  उनको निकट भनिएका सुवास नेम्वाङ, शङ्कर पोखरेल, विष्णु पौडेलले राजनीतिक भविष्य समेत अन्धकार बनाएका छन् । भ्रष्टाचारको आरोपमा ईश्वर पोखरेलले त नेकपा पार्टीको छवि नै धुमिल्याउने काममा अग्रणी भएर लागेका छन् ।  ट्याङ्कीमा पैसा राखेको, पछिल्ला दिनमा केवल पैसाका लागि मात्रै हिँडेका पोखरेललाई त नेपाली जनताले कुनै पनि अर्थमा सही मान्दैनन् र भन्दैनन् पनि ।

चुनाव त हुने होइन, किनकि उनले गर्नका लागि चुनाव घोषणा गरेका होइनन् । हुनै नसक्ने चुनाव भारतीय योजनाको अर्को तुरूप हो । राज्ययन्त्रको दुरुपोग गरेर कमाउने धन्दा चलाउनु छ, सोही काममा ओली लागेका छन् । इतिहासको आवश्यकता, जनमतलाई लत्याएर उनले जुन खालको व्यवहार गरे । त्यो नै नेपालीका लागि अभिशाप नै बनेको छ ।  ओलीले भारतीय योजनामा जुनखालको अराजक व्यवहार देखाए । त्यसलाई नेपाली जनताले कुनै पनि हालतमा क्षमा दिने छैनन् । उनले संविधानको हत्या गरेका छन् ।

सही ठानिएका र एकाध मानिसले पनि ओलीको असंवैधानिक गतिविधिलाई प्रश्रय दिन लागिपरेका छन्, त्यो भने बुझ्न नसकिएको विषय बनेको छ । ओलीले ज्यादती गर्छन्, कानुन मिच्छन्, विधि मान्दैनन् । बहुमत मान्दैनन्, निर्णय मान्दैन, संविधानको ठाडो उल्लङ्घन गर्छन्, त्यस्ता मान्छेलाई कारबाही गराउन लाग्नुको साटो उनको पछि लाग्नु आफैंमा आश्चर्य रहेको विश्लेषकहरुको भनाई छ ।  नेपालको राजनीतिक इतिहासमा पटक पटक संसद भङ्ग गर्ने कलङ्कको टीका शेरबहादुर देउवाले लगाएका थिए । संविधानलाई दरबारमा बुझाउने देउवाको शैलीमा नै ओलीले जनताले बनाएको संविधानलाई कागजको खोस्टामा परिणत गरिदिए भने जनताले लडेर स्थापित गरेको गणतन्त्रलाई पनि राजतन्त्रको नयाँ रूपमा परिभाषित गरिदिएका छन् ।

तथ्यहरुका आधारमा ओली क्रमशः सामाजिक फासीवादको दिशामा आग्रसर भएर लागेका छन् । नेपालमा पनि ओलीको राजनीतिक आयु त पूर्ण रूपमा अब समाप्त भइसकेको र ओली अब तुलसी गिरीको नयाँ संस्करणमा रूपान्तरित भएका छन् । उनलाई केवल अब इगो साध्नुछ । राज्यका हरेक साधन र स्रोतलाई आफ्नो कब्जामा पारेर सीमित स्वार्थ पूरा गर्न लागिपरेका ओलीले राजनीतिलाई समेत जोकमा परिणत गरेका छन् । राजनीतिलाई जोकमा पार्न उनले मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य तथा धुर्मस, सुन्तलीलाई समेत उछिनेका छन् । राजनीतिमा विचार शून्य भएपछि जे गरे पनि हुन्छ भन्ने मान्यता उनले स्थापित गरेका छन् । राजनीतिलाई जोक बनाएपछि जे–जसो गर्दा पनि हुन्छ र संविधानलाई पोलेर खाए पनि हुन्छ, कानुनलाई आफू अनुकूल व्याख्या गरे पनि हुन्छ भन्ने मान्यता स्थापित गर्न लागिएको छ । 

पछिल्ला दिनमा त ओली भारतीय योजनामा चलेको स्पष्ट नै भएको छ । भारतीय संस्थापन पक्ष नजिकको मिडियालाई बालुवाटारमा बोलाएर उनले मेजमानी मात्रै गराएनन्, प्रायोजित अन्तरवार्ता नै गर्न भ्याए । नेपालको संविधान भारतलाई मन परेको थिएन ।  संविधान कार्यान्वयन नहोस् भन्ने उसको चाहना थियो । सोही चाहनाअनुसार नै ओलीले संसद् विघटन गरेका हुन् । तथ्यहरुले पुष्टि गरेको छ, ओली भारतीय खुफिया एजेन्सीको गोटी बने । अब भारतले केही समय ओलीलाई बोक्न सक्छ, किनकि आफ्नो केही स्वार्थ ओलीबाट पूरा हुन्छ भन्ने मनसायमा भारत रहेको छ । राष्ट्रवादको नारामा राष्ट्रवादको हत्या गर्न ओली तरबार लिएर खडा भएका छन् । राजनीतिक रूपमा परास्त भएपछि राष्ट्रवादको नक्कली नारा लगाउनु र माला जप्नु नै ओलीका लागि तत्कालको कार्यभार भएको छ ।

चुनाव त हुने होइन, किनकि उनले गर्नका लागि चुनाव घोषणा गरेका होइनन् । हुनै नसक्ने चुनाव भारतीय योजनाको अर्को तुरूप हो । राज्ययन्त्रको दुरुपोग गरेर कमाउने धन्दा चलाउनु छ, सोही काममा ओली लागेका छन् । इतिहासको आवश्यकता, जनमतलाई लत्याएर उनले जुन खालको व्यवहार गरे । त्यो नै नेपालीका लागि अभिशाप नै बनेको छ ।  ओलीले भारतीय योजनामा जुनखालको अराजक व्यवहार देखाए । त्यसलाई नेपाली जनताले कुनै पनि हालतमा क्षमा दिने छैनन् । उनले संविधानको हत्या गरेका छन् । गणतन्त्रको आन्दोलन चलिरहँदा बालकोटमा बसेर बयलगाडा भन्दै आन्दोलनकारीलाई होच्याउने काम पनि उनैले गरेका छन् । 

मदन भण्डारीको हत्यापछि राजनीतिमा उदाएकी राष्ट्रपति विद्यादेवी भण्डारीले जुनखालको अराकज व्यवहारलाई साथ दिइन्, त्यसको समेत इतिहासले एक न एक दिन मूल्याङ्कन गर्ने नै छ । ओलीको गलत हर्कतलाई साथ दिन सकिँदैन भनेर उनले रोक्न सक्थिन् तर उनले त्यसो गरिनन् । किनकि उनी ओलीको रबर स्ट्याम्प बनेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्थापित भइसकेको छ । नेपालको विकास निर्माणको कामलाई अगाडि बढाउने बीआरआई जस्ता कार्यक्रमलाई अगाडि बढाउन ओली तयार भएनन् । 

उत्तरी छिमेकी देश नेपालले नेपालको विकास र समृद्धिका लागि जुनखालको व्यवहार देखाएको थियो । त्यसलाई समेत ओलीले चक्नाचुर पारिदिएका छन् । भारतीय योजनाअनुसार नै चिनियाँ सूचनासमेत ओलीले भारत नै पु¥याएको समेत कूटनीतिक वृत्तमा चर्चा छ । ओलीले बीआरआईमा समावेश आयोजना अगाडि बढाउन नखोज्नुको पछाडि पनि सोही व्यवहारले काम गरेको छ । नेपालको समृद्धि, शान्ति, स्थायित्वका लागि चीन अग्रसर भएको थियो । प्रचण्डको जोडबलमा चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गरेका थिए । तर ओलीले सबै तथ्य र परिणामलाई नजरअन्दाज गर्दै नेपाली जनताको हितविपरीत गएर काम गरे । जसले नेपालको विकास र समृद्धिको यात्रा १० वर्ष पर धकेलिएको छ । 

ओलीको पछिल्लो हर्कतलाई नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय निर्देशनको उपज भएको बताएका मात्रै छैनन् । उतैको निर्देशनमा संसद् भङ्ग गरेको तथ्यसमेत उद्घाटित भएको उल्लेख गरेका छन् । घटनाक्रमले प्रचण्डको भनाइलाई समेत बल पुगेको छ । 
समान्त गोयल नेपाल आउनु, भारतीय सेनापति नेपालमा आएर मन्त्रणा गर्नु, खुफिया एजेन्सीका मान्छेसँग ओलीले घण्टौँ छलफल गर्नु,  त्यही तथ्य लुकाउन खोज्नु, नसकिएपछि भेट नै नभएको हो भन्नुले पनि ओलीको चरित्र सतहमा आएको छ । सोही गतिविधिको प्रतिबिम्बका रूपमा ओलीले पार्टी विभाजन र संसद् भङ्ग गरेका हुन् । त्यस आधारमा हेर्दा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको पछाडि भारतको हात रहेको छ भन्दा अन्यथा हुँदैन ।

गत असारमा पनि ओलीले भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको र त्यसमा पार्टीका नेताहरु लागेको कुतर्क गरेका थिए । जति बेला पार्टीमा सङ्कट पर्छ, ओलीले त्यस्तै हावादारी कुतर्क गर्ने गरेका थिए । पछिल्लो पटक पनि त्यस्तै खालको कुतर्क गरेका थिए । पछिल्लो पटक त ओली कताबाट सञ्चालित रहेछन् भन्ने स्पष्ट नै भएको छ । प्रचण्डको भाषामा भन्दा त ‘अहिले त नाङ्गो देखिएको छ नि विदेशी शक्ति केन्द्र आएर उहाँलाई केके मन्त्र सुनाए । अहिले पार्टी विभाजन गर्ने, संसद् भङ्ग गर्ने भारतले भनेर ग¥यो सारा जनताले देखेबुझे । यसलाई के भन्नुहुन्छ केपीजी ?’ प्रचण्डले प्रश्न तेस्र्याउदैं अझै अगाडि भनेका छन्, ‘मैले भारतलाई केही भन्न खोजेको होइन तर केपीजीले कस्तालाई विशेष दूत भनेर बोलाउनुभयो । बालुवाटार तीन घण्टा मन्त्रणा गर्नुभयो । हाम्रै प्रधानमन्त्रीले अपारदर्शी तरिका अपनाएको त नेपाली जनताले आफ्नो आँखाले हेरेकै छन् नि ।’

संसद् विघटनको निर्णयपछि ओलीको निधारमा कलङ्कको टीका लागेको प्रचण्डको भनाइ छ । उनले भनेका छन्, ‘उहाँले विदेशीको इसारामा संसद् विघटन गर्नुभयो । यो कलङ्कको टीका मेटिँदैन ।’ यद्यपि मन्त्रिपरिषद्, पार्टी र सर्वोच्च अदालतसँग माफी माग्ने अवसर अझै बाँकी रहेको प्रचण्डको भनाइ छ । पछिल्लो पटक अझै नाटक गर्न सिपालु ओलीले अर्को नौटङ्की गरेका छन् । उनले भारतीय च्यानल जी न्युजलाई बोलाएर राम्रै नाटक गरेका हुन् । गत सोमबार प्रसारित प्रधानमन्त्रीको अन्तरवार्ता नाटक भएको तथ्य उद्घाटित भइसकेको छ । प्रधानमन्त्री ओलीले नै बोलाएर अन्तरवार्ताको नाटक गरेको त जी न्युजका प्रधान सम्पादक भनिएका सुधिर चौधरीले सगरमाथा भारतको भनेर दाबी गरेर हैसियत देखाइदिएको छ ।

भारतमा नाम चलेका अन्य सञ्चारमाध्यम छन् । उनीहरुले त ओलीको अन्तरवार्ता बजाएका छैनन् । किनकि ओलीको नौटङ्की हो भन्ने कुरा आम मानिसलाई थाहा छ । भारतीय मिडियालाई थाहा नहुने भन्ने कुरा होइन । नेपालका सञ्चारमाध्यम र पत्रकारको मुटु नभएको भनेर खिसिट्युरी गर्ने ओलीले किन मोदीको गोदी मिडिया नै बोलाए भन्ने कुराको तथ्य त सार्वजनिक नै भइसकेको छ ।  ओली राजनीतिक जोकर जसरी प्रस्तुत भएका छन् । पार्टीको केन्द्रीय कमिटीको ७० प्रतिशत बढी प्रचण्ड नेपाल पक्षको संस्थापनमा रहेका छन् । तर ओलीले अरूलाई भगौडा भन्दै हिँडेका छन् । प्रचण्डको भनाइ छ ‘कान थुन्नु के थुन्नु, आँखा छोप्नु पनि के छोप्नु । ७० प्रतिशत भगौडा हुने, ३० प्रतिशत पनि नभएकाहरु चाहिँ रैथाने रे ।’

योभन्दा ओलीको हास्यास्पद र अराजक तर्क अरू हुनै सक्दैन । पछिल्ला दिनमा ओलीको व्यवहार र अभिव्यक्ति विक्षिप्त मानसिकताको उपज मात्रै भएको राजनीतिक विश्लेषकहरुको भनाइ छ । केन्द्रीय कमिटीमा रहेका ‘एक सय जुटेर एघार सय बनाउनु विक्षिप्त मानसिकता नभएर के हो ?’ भन्दै राजनीतिक विश्लेषकहरुले समेत प्रश्न गरेका छन् ।  बैठकबाट भाग्दै हिँडेका ओलीले अरूलाई भगौडा भनेको भन्दै उनले पार्टीमा बैठक बस्नका लागि आफूहरुले निकै सङ्घर्ष गर्नुपरेको नेकपाका भुक्तभोगी नेता नै बताउँछन् । प्रचण्डले भनेका छन् ‘लाज घिन हुनुपर्छ के ? लाज मान्ने ठाउँमा लाज मान्नुपर्छ, डर मान्ने ठाउँमा मान्नुपर्छ, डर मान्ने ठाउँमा डर मान्नुपर्छ । निर्घिणी पनि हुनुहुन्न के ?’

संसद् विघटन गरेका प्रधानमन्त्री ओलीले पार्टीले काम गर्न नदिएको तथा घेराबन्दी गरेको तर्क गरेका छन् । त्यसमा पनि प्रचण्डले जवाफ दिएका छन– कम्तीमा एउटा उदाहरण पेस गर्न चुनौती दिन्छु । पार्टीका नेताहरुलाई विश्वासमा लिन नसक्नु प्रधानमन्त्रीकै कमजोरी भएको प्रचण्डको भनाइ छ । उनले नेताहरुलाई विश्वासमा लिनुपर्ने, नभए अल्पमतमा परेपछि राजीनामा दिनुपर्ने बताएका छन् । उनले भनेका छन् ‘म भएको भए जुन दिन अल्पमतमा परेँ त्यसै दिन राजीनामा दिन्थेँ । त्यो लोकतन्त्र, राष्ट्र र पार्टीको हितमा हुन्थ्यो’ ।

तर ओलीले आफूले छोड्नु परे कुर्सी नै भाँचिदिने प्रवृत्ति देखाए । ओलीमा ‘मैले भनेको सर्वोच्चले मान्नुपर्छ, निर्वाचन आयोगले मान्नुपर्छ । म नै लोकतन्त्र हुँ’ भन्ने प्रवृत्ति देखाएका छन् । राजनीतिक जानकारले यस्तो अवस्थालाई मर्ने बेलाको कमिलासँग तुलना गरेका छन् । प्रचण्डको भनाइमा पनि ‘कमिलाको मर्नेबेला प्वाँख पलाउँछ, केपीजीमा त्यही देखिँदैछ । यो दुई चार महिना मात्रै हो । जनताले छोड्नेवाला छैनन्’ ।

ओलीले यसअघि पनि तीन पटक पार्टी फुटाउन खोजेका थिए । त्यसलाई प्रचण्ड माधव नेपालहरुले रोकेका थिए । तर ओली कहिल्यै सच्चिएनन् । बरु उनले संविधानमाथि नै हर्कत गरे । जसका कारण नेपाली जनताले सङ्घर्षबाट पैदा गरेको संविधानलाई कागजको खोस्टामा परिणत गरिदिए । यसबाट उनको नै पतनको सुरुवात भएको छ । यो पतनले ओलीलाई कहाँ पु¥याउँछ, त्यो भने हेर्न बाँकी रहेको छ । जे भए पनि ओली अब नेपालको राजनीतिबाट क्रमशः फालिनेछन् । जुन अनिवार्य आवश्यकता नै बनेको छ । ओलीको राजनीतिक पतनमा को को मलामी जालान्, त्यो भने आगामी दिनमा नै स्पष्ट हुनेछ ।

प्रतिक्रिया दिनुहोस