इन्डोनेसियामा भूकम्प जाँदा ३४ जनाको मृत्यु

एजेन्सी

शुक्रबार, ०२ माघ २०७७, १६ : ५४
इन्डोनेसियामा भूकम्प जाँदा ३४ जनाको मृत्यु

फाइल तस्विर

जकार्ता । इन्डोनेरियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली  भूकम्प गएको छ । भूकम्पमा परेर कम्तीमा ३४ जनाको मृत्यु भएको छ । बिहान सबेरै आएको यस भूकम्पमा परेर एक अस्पताल र कयौँ भवन भत्किनुको साथै सुलावेसी द्वीपका सयौँ व्यक्ति घाइते भएका छन् । 

यस द्वीपमा साढे दुई वर्षअघि आएको भूकम्प र सुनामीमा परी हजारौँ व्यक्तिको मृत्यु भएको थियो । सुलावेसी द्वीपको मामुजु शरहमा मात्र यस भूकम्पको कारण २६ जनाको मृत्यु भएको यहाँको प्रकोप नियन्त्रण विभागका प्रमुख अलि रहमानले बताएका छन् । भवनको भग्नावशेषमा अझै पनि व्यक्तिहरु पुरिएको अनुमान गरिएको छ ।

त्यसैगरी मामुजु शहरबाट निकै टाढा रहेको दक्षिणी क्षेत्रमा भूकम्पको कारण आठ व्यक्तिको मृत्यु भएको छ । दुबैतर्फ गरी ३४ जनाको मृत्यु भएको प्रकोप नियन्त्रण विभागका अधिकारीहरुले जानकारी दिएका छन् । उद्धारकर्ताहरुले मामुजु अस्पतालको भग्नावशेषमा उद्धारकार्य जारी राखेका बताइएको छ । यस अस्पतालको भग्नावशेषमा बिरामी र अपस्पालका कर्मचारी गरी करिब दश जना पुरिएका अनुमान गरिएको छ । 

भूकम्पको कारण भएको धनजनको क्षतिलगायतका विस्तृत विवरण भने प्राप्त भएको छैन । अहिले प्रभावित क्षत्रेमा उद्धारकर्मी पुगेका छन् ।   सन् २०१८ मा इन्डोनेसियाको सुलावेसी र पालुमा आएको ७.५ म्याग्नीच्युडको भूकम्प र त्यसपछिको  सुनामीमा परी ४ हजार ३ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । 

सन् २००४ को डिसेम्बर २६ मा गएको ९.१ म्याग्नीच्युडको भूकम्प र त्यसपछि आएको शक्तिशाली सुनामीमा २ लाख २० व्यक्तिको मृत्यु भएको थियो । त्यसमा एक लाख ७० हजार इन्डोनेरियाली नागरिक रहेका थिए । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस