महाभियोगपछि ट्रम्पले भने,‘शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्छु, हुलदंगा नगर्नुस्’

एजेन्सी

विहीबार, ०१ माघ २०७७, १२ : ४१
महाभियोगपछि ट्रम्पले भने,‘शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्छु, हुलदंगा नगर्नुस्’

फाइल तस्विर

काठमाडौं । अमेरिकाको तल्लो सदनबाट ऐतिहासिक रुपमा दोस्रोपटक महाभियोग प्रस्ताव पारित भएपछि ट्रम्पले शान्तिपूर्वक सत्ता हस्तान्तरण गर्ने बताएका छन् । उनले गत साता संसद् भवनमा भएको हुलदंगालाई आफ्नो अभियानमाथिको आक्रमण समेत भने । 

जबकी, गत साता संसद् घेराउ गर्नका लागि ट्रम्पले नै आफ्ना समर्थकहरुसँग आग्रह गरेका थिए । हुलदंगाका क्रममा ५ जना मारिएपछि अहिले यही विषयलाई लिएर अमेरिकाको तल्लो सदनबाट उनीविरुद्ध महाभियोग प्रस्ताव जारी भएको छ । तर, ह्वाइट हाउसको आधिकारीक ट्वीटर एकाउन्टबाट पोस्ट गरिएको नयाँ भिडियोमा उनले शान्त रहनका लागि अपिल गरेका छन् । सबै अमेरिकीहरु एक भएर अघि बढ्नुपर्ने धारणा उनले राखेका छन् ।

‘मेरा वास्तविक समर्थकहरुले कहिल्यै राजनीतिक हिंसालाई मलजल गर्दैनन् । मेरा वास्तविक समर्थकहरुले कहिल्यै कानूनको अवज्ञा वा अमेरिकी झन्डाको असम्मान गर्दैनन् । मेरा वास्तविक समर्थकहरुले कहिल्यै अन्य अमेरिकीहरुलाई चिन्तित बनाउने वा धम्की दिने गर्दैनन्,’ ट्रम्पले भने ।

जनवरी ६ मा संसद् भवनमा आक्रमण गर्न आएकाहरुले राजनीतिक वृत्तमा दशौं लाख अमेरिकीहरुलाई आक्रोशित बनाएको उनले बताए । यस आक्रमणमा संलग्नहरुलाई न्यायको कठघरामा ल्याउने काम हुने उनले बताए । जो बाइडेनको सपथको समय वासिङटन डिसीमा हजारौंको संख्यामा नेशनल गार्डहरु परिचालन गरिनेतर्फ इंगित गर्दै ट्रम्पले कुनै दुर्घटनामा बिना शान्तिपूर्वक सत्ता हस्तान्तरण हुने कुराको सुनिश्चितता गरिएको बताए।

तल्लो सदनबाट महाभियोग प्रस्ताव पारित भएको दुई घण्टापछि यो भिडियो जारी भएपनि ट्रम्पले महाभियोगबारे केही उल्लेख भने गरेनन् । २० जनवरीमा ट्रम्प स्वत पदमुक्त हुनेछन् । राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले यही दिन पद तथा गोपनियताको सपथ लिनेछन् । 
 

प्रतिक्रिया दिनुहोस