दोलखा । दोलखाको मेलुङ गाउँपालिका–३ निवासी दुर्गामाया कार्कीले १०५ वर्षमा आज नागरिकता पाउनुभएको छ । दोलखाको साविक मालु गाविस वडा नं ४ मा विसं १९७२ भदौ १८ गते जन्मनुभएकी कार्र्कीले आज जिल्ला प्रशासन कार्यालय दोलखाबाट नागरिकता लिनुभएको हो । मालुमा जन्मनुभएकी कार्की ७७ वर्षअघि विवाह गरी घ्याङ्सुकाठोकर पुग्नुभएको र विवाहपश्चात श्रीमान्सँग सम्बन्ध राम्रो नभएपश्चात छोरीसँग बस्दै आउनुभएको थियो ।
हाल छोरीको घरमा बस्दै आउनुभएकी कार्कीको श्रीमान्को मृत्यु भइसकेको छ । १०५ वर्ष हुँदासम्म नागरिकता नभएपछि जेठाजुका छोरा गोकुलबहादुर कार्की र नाति दीपेन्द्रकुमार कार्कीको सनाखतमा जिल्ला प्रहरी कार्यालय, वडा कार्यालयको सिफारिसमा नागरिकता प्रदान गरिएको हो । प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले कार्कीलाई नागरिकता प्रदान गर्नुभएको थियो ।
एक सय पाँच वर्षको ज्येष्ठ नागरिककै नागरिकता नभएको र राज्यबाट प्रदान गरिने सेवा सुविधा पाउनबाट बञ्चित रहेको जानकारी भएपछि वडाले आफन्तसँग जाँचबुझ गरी स्थानीयवासीको रोहवरमा वडा कार्यालयको सिफारिसमा आज जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराई नागरिकता प्रदान गरेको वडाध्यक्ष हीरा थोकरले जानकारी दिनुभयो ।
आफूले १०५ वर्षको उमेरमा नागरिकता पाएकामा खुशी व्यक्त गर्दै कार्कीले ज्येष्ठ नागरिकका लागि सरकारले प्रदान गर्ने सेवा सुविधा पनि सहजरूपमा पाउने अपेक्षा राख्नुभयो । कार्की जिल्ला प्रशासन कार्यालय दोलखाबाट बढी उमेरमा नागरिकता लिने पहिलो ज्येष्ठ नागरिक भएको जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलखबहादुर आलेले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २८ पुस २०७७, १९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा नागरिकता त्याग्नेभन्दा गैर आवासीय नागरिकता लिने बढी
आमाको थरबाट नागरिकता लिन पाइने व्यवस्था गरिँदै
८१ वर्षीया कालमायाले बल्ल पाइन् नागरिकता
८१ वर्षको उमेरमा नागरिकता
लहानमा अब अनलाइनबाट नागरिकता सिफारिस
क्यानडामा मस्कको नागरिकता खारेज गर्न याचिका