बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै

पछिल्लो २४ घन्टामा एक हजार १६२ जनाको मृत्यु

एजेन्सी

शुक्रबार, २४ पुस २०७७, ०८ : ०६
बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै

एजेन्सी । बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या गत वर्ष अप्रिलयताकै उच्च भएको छ । पछिल्लो २४ घन्टामा एक हजार १६२ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।

यससंगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७८ हजार ५०८ पुगेको छ । मृतक संख्याको आधारमा बेलायत आजबाट विश्वमा पाँचौं स्थानमा रहेको छ । यसअघि बेलायत युरोपियन मुलुक इटालीभन्दा पछाडी रहँदै आएको थियो ।

यसैगरी पछिल्लो २४ घन्टामा बेलायतमा ५२ हजार ६१८ जना नयाँ संक्रमित थपिएका छन् । नयां थपिएका संक्रमितसँगै बेलायतमा हालसम्म २८ लाख ८९ हजार ४१९ पुगेको छ । बेलायतमा विगत एकहप्तादेखि दैनिक संक्रमितको संख्या ५० हजारभन्दा माथि रहँदै आएको छ । जुन संख्या बेलायतमा महामारी शुरु भएयाताकै सबैभन्दा बढी हो ।

गएको २४ घन्टामा तीन हजार छ सय जना संक्रमित अस्पताल भर्ना भएका छन् भने तीस हजार भन्दा बढी कोरोना संक्रमितको अस्पतालमा उपचार भैरहेको छ । यो संख्या कोरोना महामारीको पहिलो चरणमा भन्दा बढी हो  ।

कोरोनाभाइरस संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएका कारण अस्पतालको बेड व्यवस्थापनमा कठिनाई भएको  स्वास्थ्य विभागले जनाएको छ । कोरोना  संक्रमण दर बढेसंगै कोरोना विरुद्धको भ्याक्सिनलाई पनि तीव्रता दिइएको छ ।

हाल बेलायतमा फाइजर(बायोएनटेक र अक्सफोर्डका दुईवटा खोप वितरण कार्य भैरहेको छ । हालसम्म १२ लाख ९६ हजार ४३२ जनालाई कोरोना विरुद्धको भ्याक्सिनको पहिलो  दिईसकेको स्वास्थ्य विभागले जनाएको छ । जसमध्ये २१ हजार ३१३ जनालाई भ्याक्सिनको दोस्रो डोज पनि दिईसकिएको छ ।
 

प्रतिक्रिया दिनुहोस