कोइरालाको विरोध भएपछि राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा शर्मा

पत्रपत्रिकाबाट

शुक्रबार, २४ पुस २०७७, ०७ : ५३
कोइरालाको विरोध भएपछि राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा शर्मा

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरलका सम्धी उपेन्द्र कोइरालाको पक्षमा चौतर्फी विरोध भएपछि राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा धनीराम शर्मा नियुक्त भएका छन् । सञ्चालक समिति बैठकले बिहीबार बिहान शर्मालाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो । शर्माले बिहीबार नै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

यसअघि सरकारले कोइरालालाई बैंकको अध्यक्ष बनाउन पठाइए पनि चौतर्फी विरोध भएपछि शर्मालाई नियुक्त गरिएको हो । विरोधकै कारण सरकारले नियुक्त गरेको ४० दिनपछि ९गत असोज दोस्रो साता० कोइरालाले सञ्चालकको शपथ लिएका थिए । सञ्चालकमध्येबाटै अध्यक्ष चुन्ने व्यवस्थाअनुसार कोइरालालाई अध्यक्ष बनाउने बैंकको योजना थियो ।

कोइरालालाई तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले नियुक्त गरेका थिए । विष्णु पौडेल अर्थमन्त्री बनेपछि अर्थ मन्त्रालयबाट शर्मालाई अध्यक्ष बनाउन निर्देशन आएपछि बैंक सञ्चालक समितिले उनैलाई अध्यक्ष चुनेको हो । बिहीबारको बैठकमा सञ्चालक जनककुमार बरालले शर्मालाई अध्यक्ष बनाउने प्रस्ताव पेस गरेका थिए । विवादास्पद छवि भएका कोइरालालाई सरकारको पूर्ण स्वामित्वको एक मात्र बैंकको नेतृत्व सुम्पन लागेको भन्दै चर्को विरोध भएको थियो । सोही कारण पाँच महिनासम्म पनि बैंक अध्यक्षविहीन थियो ।

मन्त्रीस्तरीय बैठकबाट अर्थ मन्त्रालयले गत भदौ ७ मा कोइरालालाई सञ्चालकमा नियुक्त गरेको थियो । भदौ ८ मा उक्त निर्णयको पत्र बैंकलाई प्राप्त भएको थियो । त्यसपछिको बैंक सञ्चालक समितिको पहिलो बैठक ९भदौ १०० मा कोइरालालाई अध्यक्ष चुन्ने प्रस्ताव तय भएको थियो । तर कोइरालाको विषयमा चौतर्फी विरोध भएपछि उक्त दिन बैठक बस्न सकेन । त्यसपछिका कुनै पनि बैठकमा यो विषयले प्रवेश पाउन सकेको थिएन । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस