बेलायतमा फेरि लकडाउन घोषणा

एजेन्सी

मंगलबार, २१ पुस २०७७, १९ : ३१
बेलायतमा फेरि लकडाउन घोषणा

काठमाडौँ । नयाँ प्रकारको कोरोनाभाइरस फैलिन थालेपछि बेलायतमा फेरि लकडाउन घोषणा गरिएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार देशव्यापी लकडाउन घोषणा गर्नु भएको हो । उहाँले लकडाउन फेब्रुअरी मध्यसम्म लागू हुने जानकारी दिनुभयो । 

कोरोनाभाइरस विरुद्धको खोप प्रयोग गर्ने पहिलो राष्ट्र भएपनि बेलायतमा नयाँ प्रकारको कोरोनाभाइरस तिव्र रुपमा फैलिन थालेको छ । प्रधानमन्त्री जोन्सनले आम नागरिकलाई फेरि पनि घरमै बस्न आह्वान गर्नुभएको छ । 

उहाँले अत्यावश्यक कामका लागि मात्रै बाहिर निस्कन आग्रह गर्नुभएको वक्तव्यमा उल्लेख गरिएको छ । गत वर्षको मार्चमा जस्तै उच्च सतर्कता अपनाउनु पर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

“नयाँ प्रकारको भाइरस तिव्ररुपमा फैलिएको छ, त्यसैले यो समय उच्च सतर्कता अपनाउनु पर्ने समय हो,” उहाँले भन्नुभयो । उहाँले बेलायती अस्पतालमा बिरामीको चाप धेरै हुन थालिसकेको र थप तयारी गर्नु पर्ने अवस्था रहेको पनि उल्लेख गर्नु भएको छ ।

एक टेलिभिजनमा बोल्ने क्रममा उहाँले देशभरी फेरि अर्को महामारी फैलिन सक्ने खतरा पनि उत्तिकै रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

मंगलबारदेखि लकडाउन अन्तर्गत प्राथमिक तथा माध्यमिक विद्यालय र कलेज बन्द गर्न लगाइएको छ । भौतिकरुपमा उपस्थित भएर गरिने शिक्षण प्रक्रिया अपनाउँदा कोरोना फैलिन सक्ने खतरा औँल्याइएको छ । 

विश्वविद्यालयका विद्यार्थी पनि मध्य फेब्रुअरीसम्म विश्वविद्यालय नफर्किने भएका छन् । मानिसलाई घरबाटै काम गर्न आग्रह गरिएको छ भने घर छाड्नु पर्ने बाध्यतालाई पनि न्यूनीकरण गर्न भनिएको छ । अघिल्लो हप्ताको तुलनामा सोमबार कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या ३० प्रतिशत बृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस