युवा नेता योगेश भट्टराईको प्रश्न : केपी ओली होसमा त हुनुहुन्छ ? सन्तुलनमा त हुनुहुन्छ ?

सफल खबर संवाददाता

सोमबार, २० पुस २०७७, १४ : ३७
युवा नेता योगेश भट्टराईको प्रश्न : केपी ओली होसमा त हुनुहुन्छ ? सन्तुलनमा त हुनुहुन्छ ?

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय नेता योगेश भट्टराईले ‘प्रधानमन्त्री केपी ओली होसमा त हुनुहुन्छ ? सन्तुलनमा त हुनुहुन्छ ?’ भनी गम्भीर प्रश्न गरेका छन् । सोमबार भरतपुरमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको नगरस्तरीय अगुवा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो प्रश्न गरेका हुन् ।

‘आजको लडाइँ क्रान्ति र प्रतिक्रान्तिको लडाइँ हो । केपी ओली होसमा त हुनुहुन्छ ? सन्तुलनमा त हुनुहुन्छ ?’ नेता भट्टराईले भने, ‘मैले मेरो प्रधानमन्त्रीले मानसिक सन्तुलन गुमाउनु भयो भनेर भनेको छैन । मैले मेरो प्रधानमन्त्रीमा पागलपन सवार भयो भनेको पनि छैन । तर हिजो उहाँले जुन भाषण गर्नुभयो, जे शब्द प्रयोग गर्नुभयो, त्यो अति भयो । अशिष्टता, गालीगलौज, अमानवियता, निकृष्टता सिकाइरहनु भएको छ प्रधानमन्त्री ओलीले ।’

‘हाम्रो रगत र पसिनाले बनाएको संविधान आज एउटा व्यक्तिको सनकमा च्यातिन पुगेको छ । संविधानमा हुँदै नभएको कुरा प्रयोग गरेर पुस ५ गते संसद विघटन गर्ने काम भएको छ’ नेता भट्टराईले भने, ‘प्रधानमन्त्रीले संसद भंग गर्न सक्ने व्यवस्था धारा ५३ को ४ मा थियो २०४७ को संविधानमा । २०७२ सालको संविधान बनाउँदा यो राख्ने कि नराख्ने भनेर बहस भयो । त्यो बहसमा केपी ओली र सुवास नेम्वाङ अग्रपंक्तिमा हुनुहुन्थ्यो । २०७२ को संविधानमा त्यसलाई हटाइयो । आज प्रधानमन्त्रीले धारा ७६ को ७ अनुसार विघटन गरेँ भन्नुहुन्छ । त्यो धाराले पनि उहाँलाई संसद भंग गर्ने अधिकार दिएको छैन । विकल्पहरुमा जानु पर्छ । खोइ विकल्पमा गएको ?’

प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने बताउँदै नेता भट्टराईले प्रश्न गरे, ‘जसप्रति जवाफदेही हुनु पर्ने हो उसैलाई फाँसी चढाउन पाइन्छ ? पाइँदैन । हामी सबै संविधानको मातहतमा छौँ ।’ आज पार्टीमा बहुमत आफूहरुसँग रहेको उनले बताए । अल्पमतको भरमा बहुमतमाथि शासन गर्न खोज्ने ओलीबाट बहुदलीय जनवादको घाँटी निमोठ्ने काम भएको नेता भट्टराईको भनाइ थियो ।

बादल न गर्जिन्छ, न बर्सिन्छ

नेता भट्टराईले गृहमन्त्री रामबहादुर थापा बादलप्रति लक्षित गर्दै अहिलेका बादल गर्जन र बर्सन नसकेको बताए । उनले भने, ‘यो जिल्ला बादलको जिल्ला पनि हो । त्यो बादल न गर्जिन्छ, न बर्सिन्छ । हामीलाई लागेको थियो त्यो बादल गर्जिन्छ । विगतमा त्यो बादल गर्जिएको थियो । हामीलाई लागेको थियो त्यो बादल बर्सियोस् । विगतमा धेरै वर्षा गराएको थियो त्यो बादलले । तर त्यस्तो भएन यसपालि । गोठमा बाँधेको भैँसीजस्तो मज्जाले कुँडो खाएर बसिरहेको छ त्यो बादल । त्यसले छिट्टै गोठबाट दाम्लो चुँडाएर भागोस् । बँधुवा मजदुरजस्तो भएर त्यो बादल बस्छजस्तो मलाई लाग्दैन ।’

प्रतिक्रिया दिनुहोस