ढुक्क हुनुहोस् सूर्य चिन्ह हाम्रो हो : ओली

सफल खबर संवाददाता

शनिबार, १८ पुस २०७७, १७ : ११
ढुक्क हुनुहोस् सूर्य चिन्ह हाम्रो हो : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य चुनाव चिन्हमा कसैले दावी गर्न नमिल्ने बताएका छन् । राजधानीमा आफूपक्षीय भेलालाई शनिबार सम्बोधन गर्दै ओलीले भने, ‘ढुक्क हुनुहोस् सूर्य चिन्ह हाम्रो हो ।’ 

उनले माधव नेपाललाई फोहोरको संज्ञा दिँदै फोहोरलाई नदीको छालले किनारमा फ्यालेको टिप्पणी गरे । ‘त्रिशूली नदीमा फोहोर परेको देख्नु भयो भने छालले त्यसलाई किनारमा फ्याक्छ।  नेपालको कम्युनिष्ट आन्दोलनले त्यसैगरी फोहोरलाई फ्याक्छ।’ प्रधानमन्त्री केपी ओली ओलीले प्रचण्ड–माधव नेपाललाई खिया लागेको नटबल्टु भनेका छन् ।  आफू पक्षीय काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड–नेपाललाई खिया लागेको नटबल्टुको संज्ञा दिए । 

उनले पार्टी एकता गरिए पनि काम गर्न नदिएको उल्लेख गर्दै प्रचण्ड–नेपाल आफ्नो बाटो लागेपछि पार्टी राम्ररी चलिरहेको दावी गरेका छन् । उनले दुई वटा नटबोल्ट खिया लागेर झरेपछि पार्टी राम्रोसँग चलेको दावी गरे । उनले भने, ‘तीन वर्षसम्म पार्टी हलचल हुन सकेन । तर अहिले दुई वटा नटबोल्ट खिया लागेर झरेपछि पार्टी यसरी चलेको छ ।’ 

उनले प्रचण्ड–नेपाल समूहको आन्दोलनको औचित्य नभएको बताए । उनले आधिकारिक नेकपा आफूले नेतृत्व गरेको समूह नै रहेको जिकिर गरे । उनले आगामी निर्वाचनमा दुईटा अंकको सिट ल्याएर देखाउन पनि प्रचण्ड–नेपाल समूहलाई चुनौती दिए । 

ओलीले प्रचण्ड(माधव समूहले घोषणा गरेको आन्दोलनप्रति समेत उनले व्यंग्य गरेका छन् । अलिअलि मान्छे त सिसीमा औषधि बेच्नेले पनि रत्नपार्कमा जम्मा गर्ने भन्दै उनले भने, ‘उहाँहरुको हालत त्यो भन्दा बढ्ता हुने बाला छैन । किनकी उहाँहरुको एजेण्डा जनता होइन, संविधानको रक्षा होइन ।’

प्रतिक्रिया दिनुहोस