ओलीले सभामुखप्रति टिप्पणी गरेपछि सचिवालयले भन्यो, –'विवादमा तान्ने प्रयास भयो'

रासस

शुक्रबार, १७ पुस २०७७, २० : ४१
ओलीले सभामुखप्रति टिप्पणी गरेपछि सचिवालयले भन्यो, –'विवादमा तान्ने प्रयास भयो'

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार एक कार्यक्रममा विघटिन प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर टिप्पणी गरेपछि सापकोटाको सचिवालयले यसबारे प्रष्ट पारेको छ । 

सचिवालयको तर्फबाट प्रेस विज्ञ श्रीधर न्यौपानेले जारी गरेको विज्ञप्तिमा सभामुखलाई सम्बोधन गरी सचिवालयमा दर्ताका लागि ल्याइएको अविश्वास प्रस्तावमा सभामुखबाट दर्ताका लागि लिखित निर्देशन भएको उल्लेख छ । 

‘सम्माननीय सभामुखज्यूलाई सम्बोधन गरी सचिवालयमा दर्ताका लागि ल्याइएको अविश्वासको प्रस्तावमा सभामुखज्यूले दर्ताका लागि लिखित निर्देशन दिनु भएको हो’, विज्ञप्तिमा भनिएको छ, ‘तत् पश्चातका प्रशासनिक प्रक्रियालाई समेत जोड्दै उहाँलाई विवादमा ल्याउनु वाञ्छनीय छैन । तथ्यहरुलाई एकातिर पन्छाएर सम्माननीय सभामुखज्यूलाई समेत विवादमा तान्ने प्रयासस्वरुप सृजना गरिएको भ्रममा नपर्न सबैमा आग्रह गर्दछु ।’    

अविश्वासको प्रस्ताव दर्ता समयका सम्बन्धमा संसद सचिवालयका प्रवक्ताद्वारा पुस ८ गते प्रेस विज्ञप्तीमार्फत  स्पष्ट गरिसकिएको पनि उनले बताएका छन् । 

पुस ५ गते ९० जना सांसदले संघीय संसद सचिवालयमा दर्ता  गरेको अविश्वासको प्रस्तावका विषयमा  ओलीले सभामुखबाट आफ्नो मर्यादा कायम नभएको टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस