काठमाडौँ। हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसको भर्त्सना गरेको छ। पार्टीले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको उक्त भनाइलाई 'राष्ट्रघाती बदनियत' को संज्ञा दिएको हो।
पूर्व निर्धारित तालिकाबिना नै जेठ १७ गते संसद्को बैठक बोलाइएको र त्यसको भोलिपल्टै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति भारत भ्रमणमा जानुलाई श्रम संस्कृति पार्टीले अर्थपूर्ण रूपमा हेरेको छ। रास्वपा सभापति भारत जानुअघि भारतलाई रिझाउनकै लागि सदनमा कहिल्यै नआउने र नबोल्ने प्रधानमन्त्री एकाएक उपस्थित भएको पार्टीको दाबी छ। संसद्को रोस्टममा उभिएर प्रधानमन्त्रीले ‘नेपालले भारतको भूमि धेरै ठाउँमा मिचेको छ’ भनी दिएको अभिव्यक्तिप्रति विज्ञप्तिमा कडा आक्रोश पोखिएको छ।
अध्यक्ष साम्पाङद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीको यस्तो गैरजिम्मेवार अभिव्यक्तिले नेपालको सीमा मिचिएको गम्भीर मुद्दालाई रफादफा गर्ने खेल भइरहेको उल्लेख छ। यसले लिपुलेक र लिम्पियाधुरा फिर्ता हुनुपर्छ भन्ने नेपाली जनताको मागलाई सामसुम पार्ने र नेपालले धेरै ठाउँको भूमि भारतलाई छोडिदिनुपर्ने प्रपञ्च रचिएको आरोप लगाइएको छ। प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेको व्यक्तिले देशको हितविपरीत यस्तो कुरा बोल्दा अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि र स्थिति के हो भन्ने बारेमा गम्भीर अस्पष्टता पैदा भएको पार्टीले ठहर गरेको छ।
सरकारले नेपाली सेनाको भूमिकालाई कमजोर बनाएको र गलत ठाउँमा प्रयोग गरेको भन्दै विज्ञप्तिमा आक्रोश व्यक्त गरिएको छ। सरकारले नेपाली सेनालाई मन्त्रीको गाडीको ढोका खोल्न र आफ्नै गरिब जनताका सुकुमबासी बस्तीमा हमला गर्नमा मात्र सीमित राखेको आरोप लगाइएको छ। देशको सिमानामा सेनालाई चियाउन समेत नपठाउने सरकारले उल्टै नेपालले नै भारतको सीमा मिचेको दाबी गर्नु लज्जास्पद भएको विज्ञप्तिमा उल्लेख छ।
प्रधानमन्त्री र वर्तमान सरकार देशको सीमा रक्षा तथा भौगोलिक अखण्डताप्रति कत्ति पनि प्रतिबद्ध नरहेको यस घटनाले पुष्टि गरेको श्रम संस्कृति पार्टीले जनाएको छ। प्रधानमन्त्रीको यस्तो कदमप्रति पार्टी र तमाम नेपाली जनताको तर्फबाट घोर आपत्ति प्रकट गर्दै कडा विरोध जनाइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ जेठ २०८३, १० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति हर्क साम्पाङको आपत्ति
‘इम्पोर्टेन्ट काम छ’ भन्दै अर्थमन्त्रीले बजेट भाषण गर्दा बीचमा उठेर हिँडे हर्क साम्पाङ
हर्क साम्पाङद्वारा कुलमान घिसिङसँग पार्टी एकताको प्रस्ताव
हर्क साम्पाङद्वारा धनबहादुर राईलाई धरानको मेयरको उम्मेदवारका रुपमा अघि सार्ने घोषणा
प्रधानमन्त्री नआएपछि हर्क साम्पाङद्वारा संसद बैठक बहिस्कार
सरकार संसद्प्रति उत्तरदायी भएन, यो लोकतन्त्रमाथिको कालोधब्बा हो : हर्क साम्पाङ