बहुमत सदस्यहरुले मुख्यमन्त्री राईलाई संसदीय दलबाट हटाए

सफल खबर संवाददाता

विहीबार, १६ पुस २०७७, १६ : ४२
बहुमत सदस्यहरुले मुख्यमन्त्री राईलाई संसदीय दलबाट हटाए

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई नेकपाको संसदीय दलबाट बहुमत सदस्यहरुले हटाइदिएका छन् । बहुमत सदस्यको अविश्वास प्रस्ताव आएपछि दलको नेताको हैसियतमा कुनै पनि काम नगर्न सुचित गरे पनि मुख्यमन्त्री राईले स्पष्टिकरण सोध्ने र सांसदलाई धम्क्याउने काम गरेपछि प्रचण्ड दाहाल पक्षको नेकपाले आकस्मिक रुपमा दलको बैठक बोलाएर राईलाई हटाएका हुन् । बैठकले राईलाई पदमुक्त गरेर नेता भीम आचार्यलाई दलको नेतामा चयन गरेको छ । 

दलका उपनेता टंक आङ्बुहाङले प्रदेश १ प्रदेशसभा सचिवालयमा पुगेर दलको नेताबाट वर्तमान मुख्यमन्त्री तथा आफ्नो दलका नेता राईलाई बहुमत सांसदहरुले निष्कासन गरेको पत्र दर्ता बिहीबार भएको सभामुख प्रदिपकुमार भण्डारीले जानकारी दिए। प्रदेशसभामा नेकपाको दलको नेता परिवर्तन भएको जानकारी पत्र दर्ता भएको छ ।

बहुमत सदस्यबाट अविश्वासको पत्र दर्ता भइसकेको वर्तमान अवस्थामा सोही दलबाट निर्वाचित संसदीय दलका नेता राई नैतिक रुपमा दलका नेता हुन सकेनन् । यसअघि गत आइइतबार मुख्यमन्त्री राईविरुद्ध संसदमा नेकपाकै ३७ जना सांसदहरुले प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश गरेका थिए । 

प्रतिक्रिया दिनुहोस