यमनमा मन्त्रिपरिषदका नयाँ सदस्यलाई लिएर आएको विमानमा विष्फोट, २२ जनाको मृत्यु

एजेन्सी

विहीबार, १६ पुस २०७७, ०९ : १४
यमनमा मन्त्रिपरिषदका नयाँ सदस्यलाई लिएर आएको विमानमा विष्फोट, २२ जनाको मृत्यु

एजेन्सी । यमनको दक्षिणी शहर अदनको विमानस्थलमा मन्त्रिपरिषदका नयाँ सदस्यहरुलाई लक्षित गरी भएको आक्रमणमा २२ जना मारिएका छन् । ५० जनाभन्दा बढी घाइते भएका छन् । यमनका नयाँ सरकारका प्रतिनिधिलाई लिएर छिमेकी देश साउदी अरेबियाबाट लिएर आएको विमान  केहीबेरमै विमानस्थलमा विष्फोट भएको थियो । 

प्रधानमन्त्री माइन अब्दुलमलिक सैदले आफू र आफ्नो मन्त्रीमण्डलका सदस्य सुरक्षित रहेको बताएका छन् । बिस्फोटमा परि ज्यान गुमाउने तथा घाइते हुनेमा सहायताकर्मी तथा सरकारी अधिकारीहरु रहेको बताइएको छ । सञ्चारमन्त्रीले आक्रमणका पछाडि हुथी बिद्रोहीको हात रहेको र यो अति कायर आक्रमण रहेको बताएका छन् ।

यमनमा सन् २०१५ देखि युद्ध जारी छ । हुथी बिद्रोहीलाई परास्थ गरि राष्ट्रपति अब्ड्राब्बुह मन्सुर हादीको शासन स्थापित गर्नका लागि साउदी अरेबियाको नेतृत्वमा त्यहाँ आक्रमण हुँदै आएको छ । अहिलेसम्म युद्धमा परि एक लाख १० हजार भन्दा बढि यमनीको ज्यान गएको छ ।

बुधबार एडेन विमानस्थलमा भएको घटनाको भिडियोमा देखिए अनुसार ठूलो बिस्फोट देखिन्छ । नयाँ मन्त्रीमण्डलका सदस्य सवार विमानबाट यात्रुहरु निस्कन लागेका बेला बिस्फोट भएको हो । मन्त्रीहरुको स्वागतका लागि पुगेकाहरु बिस्फोटपछि भाग्दै गरेको तथा गोली चलेको आवाज पनि भिडियोमा सुनिन्छ ।

कम्तिमा दुईवटा बिस्फोट भएको एएफपी समाचार संस्थानका रिपोर्टरले बताएका छन् । बिस्फोटको कारण खुलेको छैन, तर सुरक्षा स्रोतले समाचार संस्था रोयटर्सलाई विमानस्थलको टर्मिनलमा तीनवटा मोटार शेल्स खसेको बताएका छन् ।
 

प्रतिक्रिया दिनुहोस