यमनमा आप्रवासी बोकेको डुंगा डुब्दा ६८ जनाको मृत्यु

एजेन्सी

सोमबार, १९ साउन २०८२, १३ : १३
यमनमा आप्रवासी बोकेको डुंगा डुब्दा ६८ जनाको मृत्यु

काठमाडौँ। यमनमा आप्रवासी बोकेको डुंगा दुर्घटना हुँदा कम्तीमा ६८ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघको आप्रवासन मामिला हेर्ने निकायले सोमबार जनाएको छ ।राष्ट्रसंघीय निकायका अनुसार डुंगामा अधिकांश इथियोपियालीहरू थिए भने डुंगा डुबेपछि दर्जनौँ अझै बेपत्ता छन् ।

हालसम्म डुंगामा सवार १५७ मध्ये ६८ जनाको मृत्यु हुनुका साथै १२ जनालाई उद्धार गरिएको तथा बेपत्ताहरूको खोजीकार्य जारी रहेको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) अभियानका देशीय निर्देशक अब्दुसाट्टोर एसोभलाई उदृत गर्दै एएफपीले जनाएको छ ।

यसअघि आइतबार दक्षिणी यमनको अब्यान प्रान्तको सुरक्षा स्रोतहरूले आप्रवासी बोकेको डुंगा दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको जनाएका थिए । सन् २०१४ देखि यमनमा चलिरहेको युद्धको कारण आप्रवासन समस्या बढेको जनाइएको छ । हजारौँले खाडी देशहरूमा पुग्ने आशामा जिबूटीबाट यमनसम्मको ‘पूर्वी मार्ग’ रेड सी पार गरेर जाने गर्छन् ।

प्रान्तको सुरक्षा निर्देशनालयले समेत यमनको अब्यानको तटमा डुबेको डुंगामा अधिकांश इथियोपियाली आप्रवासीहरू रहेको पुष्टि गरेको छ । आइतबार सुरक्षा बलले शवहरू निकाल्ने र जीवितहरूको उद्धार गर्ने अभियान चलाइरहेको बताएको थियो ।

गत महिना आप्रवासीहरूलाई बोकेको डुंगामा रेड सीमा तस्करहरूले आक्रमण गरेपछि कम्तिमा आठ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंगाको आप्रवासन एजेन्सीले जनाएको छ ।

आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनका अनुसार दशौँ हजार आप्रवासीहरू यमनमा फसेका छन् र उनीहरूको यात्राको क्रममा दुर्व्यवहार र शोषणको सामना गरिरहेका छन् ।

गत वर्ष आइओएमले ‘रेड सी’ मार्गमा कम्तिमा ५५८ जनाको मृत्यु भएको रेकर्ड गरेको थियो, जसमा ४६२ जनाको मृत्यु डुंगा दुर्घटनाका कारण भएको मानिएको छ ।

 

प्रतिक्रिया दिनुहोस