कोभिड–१९ नियन्त्रणका लागि रूसी स्पुतनिक–भि खोप दिने पहिलो अमेरिकी मुलुक बन्यो अर्जेन्टिना

एजेन्सी

मंगलबार, १४ पुस २०७७, २० : २९
कोभिड–१९ नियन्त्रणका लागि रूसी स्पुतनिक–भि खोप दिने पहिलो अमेरिकी मुलुक बन्यो अर्जेन्टिना

काठमाडौँ । अर्जेन्टिनाले रूसले विकसित गरेको स्पुतनिक–भीको खोप प्रयोग गर्दै कोभिड–१९ विरुद्धको निमुलिकरण अभियान मङ्गलबार आरम्भ गरेको सरकारी अधिकारीले जनाएका छन् । महामारीको बिरूद्ध यो खोप प्रयोग गर्ने यो पहिलो अमेरिकी मुलुक हो ।

यो खोप अभियान देशभरि एकैसाथ सुरु भएको र सुरुमा स्वास्थ्य क्षेत्रमा खटिएका कर्मचारी खोपको प्राथमिकतामा परेको अर्जेन्टिनाका स्वास्थ्य मन्त्री जीन्स गोन्जालेज गार्सियाले बताउनुभयो ।

राजधानी ब्यूनस आयर्सको पोसाडास अस्पतालमा बोल्दै उहाँले भन्नुभयो, “हामीले आफ्नो ख्याल राख्नु पर्ने छ। खोपको व्यापक प्रभाव हुन केही महिना लाग्नेछ ।” 

खोपको सुरुवात फ्लाभिया लोयाकोनो नामका एक महिला चिकित्सकबाट गरिएको उहाँले बताउनुभयो । अहिलेसम्म मेक्सिको, कोस्टारिका र चिलीपछि अर्जेन्टिना खोप अभियान सञ्चालन गर्ने चौथो ल्याटिन अमेरिकी देश हो ।

कोभिड–१९ विरुद्धको रूसी उत्पादनको पहिलो तीन लाख मात्रा अर्जेन्टिनामा क्रिसमस पूर्व नै आइपुगेको थियो । उक्त खोपलाई दुई पटक लिएपछि कोभिड–१९ सङ्क्रमणको जोखिम नरहने अनुसनधानले देखाएको खोप निर्माता कम्पनीका अनुसन्धान विज्ञहरूले बताएका छन् । 

अर्जेनिटनामा आगामी फेब्रअरीसम्ममा करिब दुई करोड खोप पुग्ने र जोखिमको प्राथमिकताका आधारमा नागरिकहरूलाई खोप दिइने मन्त्री पोसाडासले बताउनुभयो ।

अर्जेन्टिनाले रूसी खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएपनि उसले अक्सफर्ड विश्वविदालय र अस्ट्राजेनिकाले विकास गरेको खोप लिनका लागि फाइजर–बायोएनटेकसँग पनि सम्झौता गरेको छ र यसलाई देशमा ल्याउनका लागि निर्माता कम्पनीहरूसँग छलफल गरिरहेको बताइएको छ । अर्जेन्टिनामा कोभिड–१९ सङ्क्रमित झण्डै ४३ हजार व्यक्तिको मृत्यु भएको छ भने करिब १६ लाख व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।