जसपामा एक्लो बने महन्थ, नेकपाकै नियति बन्ने खतरा

सफल खबर संवाददाता

सोमबार, १३ पुस २०७७, १३ : १८
जसपामा एक्लो बने महन्थ, नेकपाकै नियति बन्ने खतरा

काठमाडौं । गत वैशाख १० गते एकता घोषणा भइ दुई अध्यक्षीय प्रणालीबाट चलेको जनता समाजवादी पार्टी नेपाल (जसपा) मा विवाद बढ्न थालेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित बनेको अवस्थामा राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी नेपाल मिलेर बनेको जसपामा पनि एकता प्रक्रिया नटुंगिँदै उस्तै खाले आन्तरिक विवाद देखिएको सो पार्टीका एक नेताले बताए । 

गत वैशाख १० गते एकता घोषणा भइ दुई अध्यक्षीय प्रणालीबाट चलेको पार्टीमा तीनजना अध्यक्ष छन् । महन्थ ठाकुर र उपेन्द्र यादव केन्द्रीय समितिका अध्यक्ष रहेका छन् भने डा.बाबुराम भट्टराई जसपा संघीय परिषद्का अध्यक्ष रहेका छन् ।  वैचारिक तथा सांगठनिक हिसाबले उपेन्द्र यादव र डा.बाबुराम भट्टराईबीच कुरा मिलेपनि महन्थ ठाकुरको त्यति कुरा मिल्दैन ।

एजेण्डा हिसाबमा कुरा मिलेपनि सैद्धान्तिक रुपमा कुरा नमिलेको नेताहरु बताउँछन् । उपेन्द्र यादव र डा।भट्टराई वामपन्थी विचारधाराका हुन् भने महन्थ ठाकुर डेमोक्र्याटिक लाइनका नेता हुन् । एजेण्डाकै कारण एकता पुरा नहुँदै पार्टीमा अन्तर संघर्ष शुरु भएको हो । यादव र डा.भटट्राईले गर्ने गतिविधिलाई महन्थ ठाकुर पक्षधर नेताहरुले रुचाएका छैनन् भने यादवले पार्टीमा मनपरी गरेको भन्दै ठाकुरले त्यसको विरोध गरेका छन् । 

विरोध मात्र होइन, ठाकुरले आफू निकट अर्थात पूर्व तमलोपाका नेताहरुसँग छुट्टै छलफल समेत थालेका छन् । बबरमहलस्थित तत्कालिन राजपा नेपालको पार्टी कार्यालयमा आफू निकटका नेताहरुसँग उनले यादव र जसपाकै वरिष्ठ नेता राजेन्द्र महतोसमेतको गतिविधिको विरोध गरेका थिए । 

यादव र वरिष्ठ नेता महतोले पार्टीमा कुनै निर्णय नै नगरी जिल्ला जिल्लामा आफूपक्षीय भेला र प्रशिक्षण कार्यक्रम चलाउन थालेको भन्दै ठाकुरले विरोध गरेका हुन् । 

डा.भटट्राई र उपेन्द्र यादवबीच हरेक कुरामा छलफल हुन्छन् र त्यही अनुसार अगाडि बढ्ने गरिएको छ भने वरिष्ठ नेता महतोले यादवसँग प्रतिस्पर्धा गर्दै अगाडि बढ्ने गरेको नेताहरु बताउँछन् । 

अध्यक्ष यादवले जहाँ–जहाँ कार्यक्रम गरेका हुन्छन्, महतो पनि त्यहाँ आफ्नो पक्षलाई केन्द्रीत गर्दै कार्यक्रमहरु गर्दै हिँडेका छन् । तर ठाकुर अहिलेसम्म त्यसरी कार्यक्रममा नहिँडेको उनी निकट नेताहरुको दावी छ । 

अब यादव र महतो जस्तै जिल्ला जिल्लामा कार्यक्रम गर्नुपर्छ भन्दै पुस ८ पनि उनले आफूपक्षीय भेला बोलाएका थिए । सो भेला राजधानीमै बोलाइएका कारण नेताहरु काठमाडौं आउने क्रम शुरु भएको थियो । तर पुस ५ गते नै राजनीतिक दुर्घटना भएपछि सो भेला स्थगित गरियो । 

यहीबीचमा प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध जसपाले पहिलो चरणको आन्दोलन गरिसकेको छ । थप कार्यक्रमको लागि पार्टीको बैठक बस्ने तयारी भइरहेको बताइएको छ । यद्यपी पार्टीभित्र विवाद भने ज्यूको त्यू रहेको छ भने आगामी दिनमा पार्टी थप जटिल मोड आउन सक्ने विश्लेषण गरिएको छ ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेसँगै वैशाख १७ गते र २८ गतेका लागि चुनावको मिति तय गरिएको छ । चुनावी गठबन्धनका लागि यादव र डा।भट्टराईको जोड प्रचण्ड–नेपाल समूहसँग सहकार्य गर्ने रहेको छ भने महन्थ ठाकुर र राजेन्द्र महतोको जोड काँग्रेस र ओली समूहसँग रहेको छ । प्रचण्ड–नेपाल समूहसँग महन्थ ठाकुर र राजेन्द्र महतो जान चाहेका छैनन् ।

 महन्थ ठाकुरको पहिलो रोजाई काँग्रेस रहेको छ, त्यसपछि मात्र ओली समूहको नेकपा । राजेन्द्र महतोको पहिलो रोजाई ओली समूहको नेकपाको रहेको छ भने दोस्रो रोजाई काँग्रेस । तर यादव र डा।भट्टराईले प्रचण्ड–नेपाल समूहसँग सहकार्य गरेर जानुपर्ने भन्दै अहिलेदेखि जोड दिँदै आएका छन् । 

यादव र भट्टराईको जोडबलमा  ठाकुर पक्षधर नेताहरुले रुचि नदेखाएपछि आगामी दिनमा थप समस्या आउन सक्ने पार्टीका नेताहरु बताउँछन्  । यही विवादले चुनावी गठबन्धन बनाउने बेलामा जसपा नेपाल विभाजन हुने निकै खतरा रहेको पार्टीका कतिपय नेताहरु बताउँछन् । 

पार्टी एकीकरण भएको नौ महिना भइसक्यो तर समायोजनको प्रकृया अझै शुरु भएको छैन । एक दुई ठाउँमा समायोजनको कार्य अगाडि बढाए पनि त्यहाँ विवाद उत्पन्न भएको छ । प्रदेश १ र लुम्बनी प्रदेशमा पूर्व राजपा नेपालका नेताहरुले विज्ञप्ति निकालेर नै त्यसको विरोध जनाएका छन् । पार्टीमा समायोजन नभएको कारण जिम्मेवारी बाँडफाँड भएको छैन । त्यसले गर्दा जिल्लाहरुमा कार्यक्रमहरु गर्न अप्ठ्यरो भइरहेको जसपा नेपालका नेताहरु बताउँछन् । 

एक नेताले भने, ‘नेकपामा देखिएको रोग अब जसपा नेपालमा सरेको छ । यस्तो पाराले यो पार्टी पनि कसरी चल्ला र ?’  


 

प्रतिक्रिया दिनुहोस