तानातानमा बादल : अब कता जालान् ?

सफल खबर संवाददाता

बुधबार, ०८ पुस २०७७, १४ : ०५
तानातानमा बादल : अब कता जालान् ?

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले अझै कित्ता क्लियर गरेका छैनन् । उनी प्रधानमन्त्री केपी शर्मा ओली समूह र पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहको केन्द्रीय कमिटीको छलफलमा गएनन् । बरु उनी आफू निकटका नेताहरुसँग छलफलमा रहे । 

‘नेता बादलले अझै कुन समूहमा जाने निर्णय गरेका छैनन्, उनी छलफल र परामर्शमै छन्, तर दुवै समूहले उनलाई आफ्नो समूहमा आउन आग्रह गरिरहेका छन्’ गृहमन्त्रालय स्रोतले भन्यो । प्रचण्ड माधव समूहको केन्द्रीय कमिटीको छलफल र प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको केन्द्रीय कमिटीको छलफल दुबै समूहमा बादल उपस्थित नभएपछि उनी अब कुन कित्तामा जान्छन् ? भन्ने विषय चर्चामा छ ।  

राजनीतिक रूपले विभाजन भइसकेको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एंव गृहमन्त्री बादलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग झन्डै आज एक घन्टा छलफल गरे । बालुवाटरमै पुगेर एक घन्टा छलफल गरेका थिए बादलले । छलफलपछि पनि उनी आफ्नो कित्ता क्लियर गरेका छैनन् । ओली समूहले उनलाई आफ्नो पक्षमा आउन पटकपटक आग्रह गरिरहेको छ । 

माधव प्रचण्ड समूहका नेताहरुले मन्त्रिपरिषदबाट राजीनामा दिए पनि बादलले राजिनामा दिएनन्, त्यसअर्थमा बादल ओली पक्षको भेलामा जान्छन् कि भन्ने धेरैको अड्कल थियो, तर उनी ओली पक्षको भेलामा गएनन् । माधव प्रचण्ड समूहको भेलामा नेता प्रचण्डले बादल हाम्रै समूहमा आउनुहुन्छ भनेका थिए, तर बादल प्रचण्ड माधव समूहको भेलामा पनि गएनन् । 

माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्ड बादलको मन्त्री क्वार्टर पुल्चोकमा गएर आफ्नो समूहमा आउन आग्रह गरेका थिए । आफू निकटका नेताहरुसँग भेटघाट गरे पनि पूर्वमाओवादी समूहका बादलले  आफू कुन कित्तामा उभिने भन्ने अहिलेसम्म निर्णय गरेका छैनन्। यद्यपी उनी दुबै पक्षको तानातानमा परिरहेका छन् । 

बबरमहलमा प्रचण्ड र माधव  समूहको बैठक चलिरहेका बेला बादल उपाध्यक्ष वामदेव गौतमसँग छलफलमा व्यस्त थिए । बालुवाटारमा ओलीको छलफल हुँदा उनी मन्त्रीक्वाटरमा रहेका थिए । प्रधानमन्त्री ओली र बादलबीच आजको भेटमा केके कुराकानी भयो भन्ने खुलाइएको छैन। बादलनिकट स्रोतहरूले भने उनले आज अब कुन समूहमा जाने भन्नेबारे निर्णय गर्ने बताएका छन् । 

गृहमन्त्री रामबहादुर थापा बादलका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकले सामाजिक सञ्जालमा यस्तो लेखेको छन्–‘हामी अहोरात्र पार्टी र यसको एकतालाइ बचाइराख्न मिलेर र मिलाएर पार्टी र सरकार संचालन गर्न गरिएको भगिरथ प्रयत्न वस्तुत असफल भएको छ। नयाँ पार्टीहरुलाई शुभकामना, अब हामी बिचार र राजनीतिको आधारमा छिट्टै सही निष्कर्षमा पुगिन्छ।’ 

प्रतिक्रिया दिनुहोस