सभामुख बनेका अग्नि सापकोटासँग किन कहिल्यै सकारात्मक बनेनन् केपी ओली ?

पत्रपत्रिकाबाट

बुधबार, ०८ पुस २०७७, ०८ : ०२
सभामुख बनेका अग्नि सापकोटासँग किन कहिल्यै सकारात्मक बनेनन् केपी ओली ?

काठमाडौं । नेकपाभित्रको निकै ठूलो रस्साकसीपछि २०७६ माघमा सभामुख चयन भएका अग्नि सापकोटाप्रति प्रधानमन्त्री ओली खुसी थिएनन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जोडबलले सापकोटा सभामुख चयन भएका थिए । 

पार्टीको आन्तरिक विवादकै कारण पूर्वमाओवादीलाई सभामुख नदिने ओलीको अडानले एक महिनासम्म प्रतिनिधिसभा बैठक सूचना टाँस्दै स्थगित गरिएको थियो । अन्त्यमा दाहालकै प्रस्तावअनुसार सापकोटा सभामुख भएका हुन् ।

एमाले र माओवादी एकीकरण नहुँदा आफूले पाएको सभामुख छाड्न नसक्ने अडान पूर्वमाओवादीले राखेको थियो । पूर्वएमालेका नेताहरूले पार्टी एकीकरण भएकाले पहिलेको भागबन्डालाई आधार मान्न नहुने तर्क गरेपछि सापकोटाले सभामुख पाएका थिए । 

सापकोटाले ओली बढी रिसाउलान् कि भन्ने भय पाल्ने गरेको उनका निकटहरू बताउँछन् । आफूलाई लागेको विषयमा बोल्दा विवाद आउने भयका कारण उनी मिडियासँग टाढै बस्दै आएका छन् । प्रधानमन्त्रीसँगको सम्बन्ध राम्रो भएन भने काम गर्न अप्ठेरो हुने बुझाइका कारण विगतमा सापकोटा रिजर्भमा बस्ने गरेका हुन् । सचिवालयका एक अधिकारीले भने, ‘अब त परिस्थिति फेरिएको छ ।’

अमेरिकी आर्थिक सहयोगअन्तर्गतको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी विधेयक पारित नगराउन भूमिका निर्वाह गरेको आरोप ओलीले पूर्वसभामुख कृष्णबहादुर महरालाई लगाउने गरेका थिए । स्रोतका अनुसार सापकोटाले पनि एमसीसी पारित गराउन असहयोग गर्ने बुझाइमा ओली थिए । 

अहिले सापकोटामाथि सर्वोच्चको मुद्दा ब्युँताउने र वनमन्त्री भएका बेला सुनसरीको सार्वजनिक क्षेत्रको जमिनको विषयमा गरेको निर्णयसँग जोडेर कारबाही गर्नेजस्ता विषयमा ओली अग्रसर हुन सक्ने अनुमान गरिँदै आएको छ । यस्तै यस्तै कारणहरूले सापकोटा ‘रिजर्भ’ बसेको अनुमान एकथरीको छ । 

ओली सकारात्मक नभएकै कारण गत असारमा प्रतिनिधिसभाको छैटौं बैठक अन्त्य गर्दा सभामुखलाई जानकारी नगराइएको स्रोतको बुझाइ छ । संवैधानिक परिषद्को बैठकहरूमा संसद् सचिवालयमा पत्र पठाउने गरिए पनि सापकोटालाई फोन गरेर ‘आउने–नआउने कन्फर्म’ गरिँदैनथ्यो ।
परिषद्का अन्य सदस्यहरूलाई पत्रबाहेक फोनबाट पनि खबर गरिन्थ्यो । सभामुख सहभागी बैठकमा पनि ओलीले आफ्ना कुरा राखेर निर्णय गर्दै आएका थिए । बैठकमा परिषद्का अन्य सदस्यहरू साक्षी मात्र हुने गरेको सापकोटाले निकटहरूलाई बताउने गरेका थिए । पछिल्लो समय परिषद् बैठकमा सापकोटा सहभागी नभएपछि ओली झन् बढी आक्रोशित भएका छन् । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस