नेकपाको स्थायी समिति बैठक आज बस्दै, ओली नगए प्रचण्ड–माधव समूहले कस्तो कदम चाल्लान् ?

सफल खबर संवाददाता

आइतबार, ०५ पुस २०७७, १० : ०९
नेकपाको स्थायी समिति बैठक आज बस्दै, ओली नगए प्रचण्ड–माधव समूहले कस्तो कदम चाल्लान् ?

file-photo

काठमाडौं । सत्तारुढ दल नेकपाको स्थायी समिति बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बैठक वस्ने तय भएको छ । यस अगाडि नै पुस १ मा नै आज स्थायी समितिको जारी बैठक बस्ने तय भइसकेको थियो ।

आजको वैठकमा प्रधानमन्त्री केपी ओली सहभागी हुने सम्भावना अन्त्यन्त कम देखिएको छ । ओली नगए  प्रचण्ड माधव समूहले के गर्लान् भन्ने विषय पनि अन्यौल नै छ । अध्यक्ष प्रचण्डको निवास खुमलटारमा ओलीले आफूमाथि लागेको आरोप फिर्ता नभएसम्म बैठकमा सहभागी नहुने भन्दै प्रचण्डको प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए । 

प्रचण्डले ओलीको त्यस्तो आग्रहलाई स्वीकार गरेनन् । उनले पार्टीमा दुबै प्रस्तावमा छलफल हुने र बैठकबाटै कमिटिले जे निर्णय गर्छ, त्यसलाई मानेर जानुपर्ने बताएका थिए । ओली भने बैठकमा नगई आफूमाथि पार्टी कमिटिले गर्ने निर्णयलाई छल्न खोजिरहेका छन् । गत पुस १ को बैठकमा ओलीले आफँैले पार्टी, मन्त्रपरिषद् सबैलाई छलेर लगेको अध्यादेश फिर्ता गर्ने पार्टीको निर्णय भए पनि त्यसलाई कार्यान्वयन नगरी अटेर गरेर बसिरहेका छन् । आजको बैठकमा ओलीले अध्यादेश फिर्ता गर्न गरिरहेको आनाकानीका विषयमा प्रश्न उठ्ने देखिएको छ ।

आजको वैठकको पूर्व तयारीका लागि अहिले बिहान प्रचण्ड निवासमा वरिष्ठ नेता माधव नेपालले छलफल गरेर बाहिरिएका छन् । स्थायी समितिको बैठक १ बजे बोलाइएको छ । बैठकमा ओली नआएको खण्डमा बैठक अगाडि बढाउने वा नबढाउने भन्ने सम्बन्धमा  ‘प्रचण्ड’ र माधव नेपालको समूहले  ठोस मनस्थिति बनाइसकेका छैनन् ।

शनिबार प्रचण्डलाई भेट्न खुमलटार पुगेका ओलीले  शीर्ष तहमा सहमति गरेर  बैठक गर्न आग्रह गरिरहेका छन् । नेकपा बैठक विस्तारै निर्णायक चरणतर्फ प्रवेश गराउने दाहाल–नेपाल समूहको तयारी छ । अहिले संसद अधिवेशन नचलेका कारण अहिले नै कुनै कदम चाल्दा ओलीले त्यसको काउन्टरमा नयाँ अध्यादेश जारी गर्ने भएकाले दाहाल–नेपाल समूह संसदसम्म कुर्ने पक्षमा छन् ।
 

प्रतिक्रिया दिनुहोस