राष्ट्रपति कार्यालयका सचिव यसरी भए बेपत्ता...

सफल खबर संवाददाता

विहीबार, ०२ पुस २०७७, १० : ०५
राष्ट्रपति कार्यालयका सचिव यसरी भए बेपत्ता...

काठमाडौं । बुधबार मध्यान्ह १२ बजेर ४८ मिनेट । राष्ट्रपति कार्यालय शितल निवासमा एकाएक नेकपाका प्रभावशाली नेताहरु भीम रावल र पम्फा भुषाल देखिए । राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ दल नेकपाका नेताहरुलाई पालैपालो शितल निवासमा कहिले डिनर खान बोलाउने, कहिले के बहानामा बोलाउदैं आन्तरिक राजनीतिभित्र हस्तक्षेपकारी नीति लिदैं आएकी थिइन् । तर रावल र भुषाललाई राष्ट्रपति भण्डारीले बोलाएर शितल निवास पुगेका थिएनन् । उनीहरु सिधै राष्ट्रपति कार्यालयका सचिवलाई भेट्ने भन्दै सचिवको कार्यकक्षतिर गए । राष्ट्रपति कार्यालयका सचिव थिए, हरि पौडेल । 

पौडेल पनि एकाएक नेकपाका प्रभावशाली नेताहरु आफैंलाई खोज्दै आफ्नो कार्यकक्षमा आईपुगेपछि अक्क न वक्क थिए । के कामले आए होलान् ? उनले कुनै अनुमान लगाउन सकेका थिएनन् । त्यसपछि नेता रावल र भुषालले आफुहरुले लगेको निवेदन झोलाबाट झिके । रावलले सन्र्दभ प्रष्टयाउदैं आफुहरु संसदका ८३ जना सांसदहरुको प्रतिनिधित्व गरेर आएको र उनीहरुको हस्ताक्षर सहित संसदको विशेष अधिवेशन बोलाउन निवेदन (समावेदन) वोकेर आएको बताए । संविधानको धारा ९३ (३) अनुसार संसदको विशेष अधिवेशन बोलाउन माग सहित आएको जानकारी गराए ।

समय बित्दै गयो, तर राष्ट्रपतिसँग सल्लाह गरेर आउछु भन्दै कार्यकक्षबाट निस्केका सचिव पौडेल फर्केनन् । बरु उनले बोकेर लगेको समावेदन पत्रको फोटोकपी बालुवाटार पुग्यो । त्यही बीच प्रधानमन्त्री केपी ओलीले भीम रावललाई टेलिफोन गरे –‘दलको नेता म । तपाई कसको निर्देशनमा संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै राष्ट्रपति कार्यालय पुग्नुभयो । तुरुन्त त्यहाँबाट फर्किनुस ।’ 

संविधानको उक्त धारामा राष्ट्रपतिले प्रतिनिधीसभाको अधिवेशन चालु नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वान्छनिय छ भनी प्रतिनिधीसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाई सदस्यहरुले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्नेछ । त्यसरी तोकिएको मिति र समयमा प्रतिनिधीसभाको अधिवेशन प्रारम्भ हुने वा बैठक बस्नेछ भनी उल्लेख गरिएको छ । रावल र भुषालले आफुले बोकेर लगेको समावेदन दर्ता गराउन राष्ट्रपति कार्यालयका सचिवलाई आग्रह गरे । त्यसपछि त झन सचिव पौडेल खङरंङ भए । के गरौं, कसो गरौं ? उनी हस्याङफस्याङ गर्न थाले । संविधानतः प्रक्रिया सबै पूरा गरेर नेताहरु सांसदहरुको हस्ताक्षर बोकेरै आफ्नै कार्यकक्षमा आईपुगेका छन् । उनले त्यसपछि नेताहरुलाई भने –‘म केही बुझ्छु प्रक्रिया ।’

सवा १ बजेपछि उनले रावल र भुषालले बोकेर गएको निवेदन लिदैं राष्ट्रपति कार्यालयका सचिव पौडेलले भने –‘म राष्ट्रपतिसँग पनि परामर्श गरेर निवेदन दर्ता गरौंला, त्यसपछि पछि टेलिफोनमा दर्ता नम्वर तपाईहरुलाई टिपाऔंला ।’ रावल र भुषालले आफुहरु दर्ता गरेर दर्ता नम्बर लिएर मात्र जाने बताए । ‘८३ जना सांसदहरुको दायित्व बोकेर हामीहरु यहा आएका छौं, टेलिफोनमा होइन, अहिले नै दर्ता गरेर दर्ता नम्बर लिएर मात्र जान्छौं ।’ रावल र भूषालले समावेदन दर्ता नगरी कार्यकक्षबाट नउठ्ने जिकिर गरे ।  प्रधानमन्त्री कार्यालयबाट अध्यादेश पुगेको क्षणभरमै विषयवस्तु समेत राम्ररी अध्ययन नगरी लाहाछाप लगाएर अध्यादेश जारी गरिदिने राष्ट्रपतिका लागि यो नैतिक संकट थियो ।

संविधानतः प्रतिनिधीसभाका एक चौथाई सांसदले हस्ताक्षर बुझाएपछि बैठक बोलाउन सक्ने व्यवस्था भएपनि कति समयमा बोलाउने भन्नेमा भने कुनै उल्लेख थिएन । तर पनि आज भोलि नै नबोलाई राष्ट्रपतिलाई धरै हुने थिएन् । त्यसपछि राष्ट्रपति कार्यालयका सचिवले आफु राष्ट्रपतिसँग परामर्श गरेर आउने र त्यसपछि दर्ता गरिदिने भन्दै रावल र भुषालले बोकेर गएको समावेदन पत्र लिएर आफ्नो कार्यकक्षबाट बाहिरिए । रावल र भुषाल सचिव पौडेललाई कुरेर त्यही बसिरहे ।

समय बित्दै गयो, तर राष्ट्रपतिसँग सल्लाह गरेर आउछु भन्दै कार्यकक्षबाट निस्केका सचिव पौडेल फर्केनन् । बरु उनले बोकेर लगेको समावेदन पत्रको फोटोकपी बालुवाटार पुग्यो । त्यही बीच प्रधानमन्त्री केपी ओलीले भीम रावललाई टेलिफोन गरे –‘दलको नेता म । तपाई कसको निर्देशनमा संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै राष्ट्रपति कार्यालय पुग्नुभयो । तुरुन्त त्यहाँबाट फर्किनुस ।’ 

रावलले पनि प्रधानमन्त्रीलाई भने, –‘तपाईले संसद बैठक १७ पुसभित्रै बोलाउनै पर्ने अवस्थामा पार्टीमा र दलमा कुनै छलफल समेत नगरी एकाएक क्याबिनेटका मन्त्रीलाई समेत अत्तोपत्तो नदिई अध्यादेश ल्याउनुभयो । यसैमा छलफल गर्नुपर्ने हामी सांसदहरुले महसुस गर्यौं । त्यसैले बैठक माग गर्न आएका हौं । हामी दर्ता गरेर मात्र फर्किन्छौं ।’ केही बेर रावल र प्रधानमन्त्री बीच टेलिफोनमै भनाभन भयो । तर पनि उनीहरुले कुरेर बसेका सचिव पौडेल कार्यकक्षमा आएनन् । त्यसपछि भने उनीहरुले सचिव पौडेललाई फोन गर्न खोजे । सचिव पौडेलको फोन स्वीच अफ भयो । सचिव पौडेल ८३ जना सांसदहरुको समावेदन बोकर पुगेका रावल र भुषालले लगेको फाइल बोकेर राष्ट्रपति कार्यालयबाटै मोवाइल स्वीच अफ गरेर बेपत्ता भए ।

सचिव पौडेलको कार्यकक्षमा रहेका रावल र भुषालसँग राष्ट्रपतिका स्वकिय सचिव भेषराज अधिकारी बेला बेला आएर गफिन्थे । तर सचिव पौडेल बेपत्ता भएको भयै भए । उनीहरुलाई त्यसपछि लाग्यो, राष्ट्रपति कार्यलयले नै यो समावेदन दर्ता गर्न चाहेन् । ओलीसँगको परामर्शमा राष्ट्रपतिले सचिवलाई लुकाइन् । उनीहरु दर्ता नगरी जति दिन लागे पनि शितल निवासबाट नफर्किने, बरु घरबाट राती बस्नका लागि ओढ्ने ओछ्याउने र खाना मगाएर भएपनि खाने भन्दै त्यही धर्नामा बसे । दिउँसो ४ वजेतिर बालुवाटारमा ओली र प्रचण्ड वीच महासचिव विष्णु पौडेल, शंकर पोखरेल, सुवास नेम्वाड र घनश्याम भुषाललाई साक्षी राखेर अध्यादेश पनि फिर्ता लिने र समावेदन पनि फिर्ता लिने समझदारी बन्यो ।

ओली अध्यादेश फिर्ता लिन बाध्य भए । त्यसपछि ओली र प्रचण्ड दुवैले रावल र भुषाललाई टेलिफोन गरी राष्ट्रपति कार्यालयबाट फिर्ता भई बालुवाटारको स्थायी समिति बैठकमा आउन आग्रह गरे । रावलले प्रचण्डसँग भने,–‘प्रधानमन्त्रीले ललाईफकाई गर्लान्, हस्याङहुस्युङ गर्लान्, उनको भर छैन् । पहिले फिर्ता गराउनुहोस बैठकबाट त्यसपछि मात्र फर्किन्छौं ।’  त्यसपछि रावलले उपाध्यक्ष वामदेव गौतम र वरिष्ठ नेता माधव नेपाललाई टेलिफोन गरे । गौतमले अहिले नफर्किन भने । गौतमले रावललाई टेलिफोनमा भने,–‘बैठकमा प्रधानमन्त्रीले अध्यादेश फिर्ता गर्छु भनेर पार्टी बैठकले निर्णय गरेपछि मात्र फर्किनुस नत्र त्यही बस्नुस् ।’

उता बालुवाटारमा स्थायी समिति बैठक ४ बजे शुरु भयो । प्रधानमन्त्रीले अध्यादेश ल्याउनु पर्नाको लामो फेहरिस्त सुनाए । तर फिर्ताको एक शब्द बोलेनन् । त्यसपछि माधव नेपालसँग भनाभन भयो । अन्ततः साक्षी बसेका नेताहरुले फिर्ता भएको सहमति बैठकमा सुनाए ।  नेकपा बैठकले अध्यादेश प्रधानमन्त्रीले फिर्ता लिने र समावेदन प्रचण्ड नेपाल समुहले फिर्ता लिने निर्णय भयो । त्यसपछि मात्र साँझ ७ बजे झण्डै ६ घण्टा राष्ट्रपति कार्यालयमा बसेका रावल र भुषाल आफ्नो समावेदन सचिव पौडेलले बोकेर लगेको खोजी गरेर आफैं बोकेर राष्ट्रपति कार्यालयबाट बाहिरिए ।

प्रतिक्रिया दिनुहोस