काठमाडौं । नेपालमा अबको पाँच दिनपछि प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाका कुल २७५ सदस्य चयन गर्नेछ । प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी नयाँ सांसदहरू संसदमा आउनेछन् ।
निर्वाचन नजिकिँदै जाँदा जनस्तरमा एउटा जिज्ञासा बारम्बार उठिरहेको छ– के चुनावपछि राष्ट्रपति पनि बदलिन्छन् ? सामाजिक सञ्जाल र सार्वजनिक बहसहरूमा नयाँ राष्ट्रपति बन्न सक्ने व्यक्तिहरूका नाम समेत अनुमानका आधारमा चर्चा हुन थालेका छन् । तर संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभा निर्वाचनसँग राष्ट्रपतिको निर्वाचनको कुनै प्रत्यक्ष सम्बन्ध छैन ।
नेपालको संविधानले राष्ट्रपतिको कार्यकाल पाँच वर्ष तोकेको छ । राष्ट्रपतिको कार्यकाल निर्वाचन भएको मितिबाट गणना हुने व्यवस्था छ । हालका राष्ट्रपति रामचन्द्र पौडेल २०७९ फागुन २५ गते निर्वाचित भएका हुन् । यस आधारमा उनको कार्यकाल २०८४ फागुन २४ गतेसम्म कायम रहनेछ । त्यसैले अहिले हुन लागेको प्रतिनिधिसभा निर्वाचनपछि नयाँ सांसद आए पनि तत्कालै नयाँ राष्ट्रपति चयन हुने अवस्था छैन ।
राष्ट्रपति कसरी निर्वाचित हुन्छन् ?
नेपालको संविधानको धारा ६२ अनुसार राष्ट्रपतिको निर्वाचन निर्वाचक मण्डलबाट हुने व्यवस्था छ । यो निर्वाचक मण्डलमा दुई तहका प्रतिनिधिहरू हुन्छन् । संघीय संसदका सदस्यहरू (प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्य), प्रदेश सभाका सदस्यहरू, यी दुई समूहका मतको भार भने समान हुँदैन । संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्यको मतभार संघीय कानुनअनुसार फरक–फरक निर्धारण गरिएको हुन्छ ।
यदि कुनै उम्मेदवारले पहिलो चरणमै बहुमत मत प्राप्त गर्न सकेन भने सबैभन्दा बढी मत ल्याएका दुई उम्मेदवारबीच पुनः मतदान हुन्छ । अन्तिम चरणमा कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपति निर्वाचित हुने व्यवस्था छ ।
कहिले खाली हुन्छ राष्ट्रपतिको पद ?
संविधानले राष्ट्रपतिको पद रिक्त हुने अवस्था पनि स्पष्ट रूपमा उल्लेख गरेको छ । राष्ट्रपतिले उपराष्ट्रपतिसमक्ष लिखित राजीनामा दिएमा, महाअभियोग प्रस्ताव पारित भएमा, पाँच वर्षे कार्यकाल समाप्त भएमा, राष्ट्रपतिको निधन भएमा बाहेक राष्ट्रपतिको पद स्वतः रिक्त हुने व्यवस्था छैन ।
संविधानले अर्को महत्वपूर्ण व्यवस्था पनि गरेको छ । राष्ट्रपतिको पाँच वर्षे कार्यकाल समाप्त भए पनि नयाँ राष्ट्रपति निर्वाचित भई पदभार ग्रहण नगरेसम्म वर्तमान राष्ट्रपतिले नै कार्यसम्पादन गर्ने प्रावधान छ । यसले राज्यको सर्वोच्च पदमा कुनै रिक्तता नआओस् भन्ने संवैधानिक स्थायित्व सुनिश्चित गर्छ ।
प्रतिनिधिसभा निर्वाचनपछि संसदको शक्ति सन्तुलन बदलिन सक्छ । त्यसैले कतिपय राजनीतिक विश्लेषणहरूमा भावी राष्ट्रपति चयनको समीकरणबारे चर्चा हुने गर्छ ।
तर संवैधानिक दृष्टिले हेर्दा अहिले हुने निर्वाचनले तत्काल राष्ट्रपतिको परिवर्तन गराउने अवस्था भने सिर्जना गर्दैन। यसैले आगामी प्रतिनिधिसभा निर्वाचनले संसदको संरचना परिवर्तन गरे पनि राष्ट्रपति पदमा भने तत्काल कुनै फेरबदल हुने छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ फागुन २०८२, ०८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पको १०८ मिनेटको सम्बोधन : जितको दाबी, विवादको छायाँ
प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै
वसन्त श्रवणको साइत बिहान १० बजेपछि : हनुमानढोकामा राष्ट्रपति उपस्थित हुँदै
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ: राष्ट्रपति
राष्ट्रपतिले किन भेटिरहेका छन् तारान्तार कांग्रेस नेताहरु ?