बैठकमा ओलीले अध्यादेश फिर्ताको कुरै निकालेनन्

पत्रपत्रिकाबाट

विहीबार, ०२ पुस २०७७, ०८ : १०
बैठकमा ओलीले अध्यादेश फिर्ताको कुरै निकालेनन्

काठमाडौं । तात्कालिक समस्या समाधानका लागि अध्यक्षद्वयबीच अध्यादेश फिर्ता लिने समझदारी जुटेपछि नेकपा स्थायी कमिटी बैठक बुधबार साँझ चार बजेतिर मात्रै सुरु भयो ।

 बैठकको सुरुवात गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि राजनीतिक संकट झन् चुलिएको बताए । उनले चार नेतासहित दुई अध्यक्षका बीचमा भएको छलफलले अध्यादेश र विशेष अधिवेशनको मागपत्र दुवै फिर्ता गर्ने समझदारी गरेको जानकारी बैठकलाई दिँदै थप प्रस्ट पार्न केपी ओलीलाई आग्रह गरे ।

स्थायी कमिटी सदस्य वेदुराम भुसालका अनुसार करिब एक घण्टा बोलेका प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने गरी भएको सहमतिबारे कुरै निकालेनन् । बरु उनले आरोप–प्रत्यारोप र हिलो छ्यापाछ्यापले कतै नपुगिने भन्दै प्रस्तावहरू फिर्ता लिन अर्का अध्यक्ष दाहालसँग आग्रह गरे ।

 ‘अध्यक्ष ओलीले अध्यादेश किन ल्याइयो भनेर त भन्नुभयो तर फिर्ताको कुरै गर्नुहुन्न,’ एक स्थायी कमिटी सदस्यले भने, ‘माधव नेपालजीले प्रस्ट कुरा आएन भनेपछि घनश्याम भुसालजी उठेर बोल्नुभयो ।’ ती सदस्यका अनुसार भुसालले अध्यक्षद्वयका बीचमा अध्यादेश र विशेष अधिवेशनको प्रस्ताव फिर्ता लिने, सहमतिका आधारमा संवैधानिक नियुक्ति गर्ने सहमति भएको र आपसमा भएको सहमतिबारे बैठकमा पनि गाह्रो नमानीकन प्रस्ट पारिदिन ओलीलाई आग्रह गरे । 

भुसालको कुरामा महासचिव  विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङलगायतले पनि सही थापे । त्यसपछि बैठकले यही निर्णयलाई माइन्युट गर्‍यो । सँगसँगै विशेष अधिवेशन माग गर्दै निवेदन दर्ता गर्न गएका स्थायी कमिटी सदस्यहरू रावल र पम्फा भुसाल राष्ट्रपति भवनमा ६ घण्टा बसेर घर फर्किए । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस