गणपूरक संख्या नपुगेपछि संवैधानिक परिषद् बैठक स्थगित

सफल खबर संवाददाता

मंगलबार, ३० मंसिर २०७७, १० : ५३
गणपूरक संख्या नपुगेपछि संवैधानिक परिषद् बैठक स्थगित

काठमाडौँ । गणपूरक संख्या नपुगेपछि संवैधानिक परिषद् बैठक स्थगित गरिएको छ । बैठक स्थगित गरे पनि बेलुका ५ बजे पुनः बोलाइएको बालुवाटार स्रोतले जनाएको छ ।

बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना बैठकस्थल पुगेका थिए । बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित भएका थिएनन् । 

परिषद्को अध्यक्ष प्रधानमन्त्री हुन्छन् भने सदस्यहरुमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख प्रतिपक्ष दलका नेता र प्रतिनिधि सभाका उपसभामुख सदस्य रहने व्यवस्था छ । यसअघि मंसिर २८ गते बोलाइएको परिषद् बैठक पनि गणपूरक संख्या नपुगेर स्थगित भएको थियो । 

सो दिनको बैठकमा सभामुख सापकोटासँगै प्रमुख प्रतिपक्ष दलका नेता देउवासमेत  सहभागी भएका थिएनन् । सो अघि शनिबार ओलीले देउवासँग भागबण्डाका लागि परामर्श गरेका थिए । 

संवैधानिक निकायका अध्यक्ष र सदस्य गरी झण्डै ४५ पद रिक्त छन् । ती पदमा प्रधानमन्त्री ओलीले काँग्रेस सभापति शेरबहादुर देउवासँग सहमति जुटाएर नियुक्तिको तयारी गरेका छन् । 

प्रतिक्रिया दिनुहोस