सीमा सुरक्षासम्बन्धी कानुन तर्जुमा हुन्छ : गृहमन्त्री बादल

सफल खबर संवाददाता

सोमबार, २९ मंसिर २०७७, १५ : १२
सीमा सुरक्षासम्बन्धी कानुन तर्जुमा हुन्छ : गृहमन्त्री बादल

चितवन । गृहमन्त्री रामबहादुर थापाले सीमा सुरक्षासम्बन्धी कानून तर्जुमा हुने बताएका छन् । उनले सशस्त्र प्रहरी बल ऐनमा समेत सो व्यवस्था गर्ने विषयमा सरकार सकारात्मक रहेको बताए । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गणीमाई बाहिनीको आज भण्डारामा उद्घाटन गर्दै उनले सीमा सुरक्षासम्बन्धी कानून तर्जुमा गराइछाड्ने दावी गरे । 

प्रहरी बल नेपाललाई प्राप्त सीमा सुरक्षाको कार्यादेशलाई थप प्रभावकारी रुपमा सम्पादन गर्ने उनको भनाइ थियो ।  उनले भने, ‘सबै निकायबीचको पारस्परिक समन्वय र सहकार्यबाट मात्रै शान्तिसुरक्षा र अमनचयन कायम गर्ने कुरा सम्भव हुन्छ ।’ उनले अन्य सुरक्षा निकायसँग समेत आवश्यक समन्वय गर्दै अघि बढ्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका थिए । सशस्त्र प्रहरीलाई समयानुकूल जनशक्ति थप गर्दै आधुनिकीकरण र प्रविधिमैत्री बनाउन एवं सङ्गठनको व्यावसायिक दक्षता अभिवृद्धि गर्दै लैजान सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो । 

गृहमन्त्री बादलले चालु आर्थिक वर्षमा २२१ बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गर्ने लक्ष्यका साथ मन्त्रालय अघि बढिरहेको र यस वर्ष ८७ नयाँ बिओपी स्थापना भइसकेको जानकारी दिए । भारत र चीन दुवै देशसँग सिमाना जोडिएको वाग्मती प्रदेशको अलग र विशेष महत्व रहेको र सुरक्षाको दृष्टिले समेत उच्च संवेदनशील रहेको बताउँदै उनले राष्ट्रको आन्तरिक सुरक्षालाई बलियो पार्न अझै उच्चस्तरको ज्ञान, सीप र व्यावसायिक दक्षता प्रदर्शन गरी परिचालित हुन  निर्देशन दिए । 

पार्टी फुट्दैन, सुदृढ हुन्छ 

गृहमन्त्री बादलले पार्टी नफुट्ने अझ सुदृढ भएर जाने बताए । उनले भण्डाराको कार्यक्रममा जानुअघि भरतपुर विमानस्थलमा भएको पत्रकार सम्मेलनमा स्थायी कमिटीले समाधान निकाल्ने तर पार्टी नफ्ट्ने बताए । सचिवालय सदस्य रहेका थापाले पार्टीको अहिलेको विवादलाई स्वभाविक रुपमा लिन आग्रह गरे । ‘स्थायी कमिटीको बहसले निकास निकाल्छ, सरकार र पार्टीलाई अझै बढी सुदृढ बनाउने काम हुन्छ’ नेता बादलले भने । राजावादीहरुको आन्दोलनलाई उनले मृगतृष्णा मात्रै भएको बताए । ‘सरकारलाई उल्ट्याउने र व्यवस्थालाई विस्थापित गर्ने सपना देखेका छन्, त्यो पूरा हुन सक्दैन’ गृहमन्त्री थापाले भने । 

प्रतिक्रिया दिनुहोस