जर्मनीमा विद्यालय र अत्यावश्यक बाहेकका पसल बन्द गर्न आह्वान

एजेन्सी

आइतबार, २८ मंसिर २०७७, २० : ५३
जर्मनीमा विद्यालय र अत्यावश्यक बाहेकका पसल बन्द गर्न आह्वान

फाइल तस्विर

काठमाडौं । जर्मनीमा अत्यावश्यक बाहेकका सबै पसल, विद्यालयलगायत बन्द गर्न आह्वान गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमण अत्यधिक बढेपछि चान्सलर एंगेला मर्केलले बुधबारदेखि अत्यावश्यक बाहेकका सबै पसल तथा कार्यालयहरू बन्द गर्न आह्वान गर्नुभएको हो ।

अहिले घोषणा गरिएको यो प्रकारको आशिंक लकडाउन कम्तीमा जनवरी १० तारिखसम्म रहने र त्यसपछि अवस्था हेरेर निर्णय गरिने पनि उहाँले स्पष्ट पार्नुभयो ।  युरोपकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुकमा महामारी झन झन बढ्दै गएपछि त्यस क्षेत्रकै लागि चुनौती भएको छ । 

अर्थतन्त्रमा धेरै नकारात्मक असर परिरहेकाले कामदारहरूलाई घरबाटै काम गर्न पनि सरोकारवाला सबैलाई मर्केलले आग्रह गर्नुभएको छ ।  त्यसैगरी सार्वजनिक स्थलमा रक्सीको कारोबार गर्न पनि प्रतिबन्ध लगाइएको छ भने कपाल काट्ने ठाउँ पनि बन्द गर्न भनिएको छ ।   

आंशिक लकडाउनका बारेमा र त्यसको व्यवस्थापनका बारेमा चान्सलर मर्केलले आइतबार १६ राज्यका नेताहरूसँग छलफल पनि गर्नुभएको थियो । क्रिसमन, नयाँ वर्षलगायतका महत्वपूर्ण चाडपर्वहरू मनाउने बेला भएकाले पनि सङ्क्रमण थप फैलिन सक्नेतर्फ सरकारी अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । 

उनीहरूले चाडपर्व मनाउनका लागि भीडभाड हुने, किनमेल बढ्ने, रमाइलो गतिविधिहरू धेरै हुने भएकाले पनि तत्काल लकडाउनको आवश्यकता भएकोमा जोड दिएका थिए । 

“देशमा कोरोनभाइरसको महामारीको अवस्था नियन्त्रणभन्दा बाहिर गइसकेको छ,” बाभारिया राज्यका प्रमुख मर्कुस सोएडरले भन्नुभयो । चान्सलर मर्केलको आह्वानलाई आफूले आफ्नो राज्यमा पूर्ण रूपमा कार्यान्वयन गराउने अठोट पनि उहाँले व्यक्त गर्नुभयो । 

जर्मनीमा यसअघि पनि धेरै नियन्त्रणका व्यवस्थाहरू लागू गरेकाले महामारी न्युनीकरण भएको थियो । तर अहिले फेरी अत्यधिक बढ्न थालेपछि सर्वत्र चासो र सक्रियता बढेको छ। 

सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार जर्मनीमा अहिलेसम्म १३ लाख २० हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने २२ हजार १७१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।