चितवनका सहकारीहरु उत्पादनमूलक क्षेत्रमा लाग्न आवश्यक : भरतपुर महानगर प्रमुख दाहाल

सफल खबर संवाददाता

शुक्रबार, २६ मंसिर २०७७, १४ : ४०
चितवनका सहकारीहरु उत्पादनमूलक क्षेत्रमा लाग्न आवश्यक : भरतपुर महानगर प्रमुख दाहाल

चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहालले चितवनका सहकारीहरु अब उत्पादनमूलक क्षेत्रमा लाग्न आवश्यक भएको बताएकी छन् । 

जिल्ला सहकारी संघको ३४ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै महानगर प्रमुख दाहालले चितवनका सहकारी संस्थाहरू सक्षम र प्रतिस्पर्घी हुनपर्ने बताइन् । कार्यक्रमको प्रमुख अतिथिसमेत रहेकी दाहालले भनिन्, ‘अब सहकारीहरु हिजोको जसरी चल्न हुँदैन, बचत गर्ने, ऋण दिन यसमा मात्र सहकारीहरु सीमित हुन हुँदैन । सहकारीहरु पनि उत्पादनमूलक क्षेत्रमा लाग्नुपर्छ । रोजगारी सिर्जनामा, विपन्नहरुको जीवनस्तर उकास्नमा सहकारीहरु लाग्नुपर्छ ।’

जिल्ला सहकारी संघको सभाहलमा भएको सो कार्यक्रममा प्रमुख दाहालले भरतपुर महानगरपालिकाभित्र सञ्चालित सबै खालका सहकारी संस्थाहरूको विधिसम्बत् ढंगले चल्नुपर्ने बताइन् । उनले भनिन्, ‘महानगरको तर्फबाट पनि सहकारीहरुको नियमन र अनुगमन भइरहेको छ ।’

उनले सहकारीहरूलाई संस्थागत ढंगले अगाडि बढाउन विभिन्न अनुदान तथा संस्थागत क्षमता बृद्धिका लागि सहयोग गरिरहेको बताइन् । प्रमुख दाहालले सहकारीहरू मर्जमा जानुपर्ने पनि बताइन् । उनले भनिन्, ‘साना साना सहकारीहरु जो नजिकनजिक छन्, जसको उद्देश्य एउटै छ त्यस्ता सहकारीहरु मर्जमा जान नै उपयुक्त हुन्छ ।’

कुल ग्राहस्थ उत्पादन र उत्पादकत्व बढाउन सहकारीको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो । प्रमुख दाहालले सहकारी क्षेत्रलाई यसलाई अझै व्यवस्थित बनाएर घर घरमा रोजगारी सृजना गर्ने काममा केन्द्रित हुन सहकारी संघसंस्थाहरूलाई आग्रह गरिन्। उनले भरतपुर महानगरपालिकाको तर्फबाट सहकारीको विकासमा सधैँ सहयोग भइरहने बताइन् । 

कार्यक्रममा सहकारी अभियन्ता तथा नपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तेजेन्द्रबहादुर खड्का, नेफस्कुनका नवराज सापकोटा लगायतले सहकारी आन्दोलन र यसका समस्याहरूको बारेमा आफ्नो धारणा राखेका थिए ।

जिल्ला सहकारी संघका अध्यक्ष हरिप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन र आयव्यय प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष पौडेलले वार्षिक प्रगति प्रतिवेदन पेस गरेका थिए । कार्यक्रममा लेखा समितिका संयोजक चेतन सेढाईले संघको वार्षिक आय व्यय प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस