विवाह खर्च कटौती गरेर अक्षयकोष स्थापना

रासस

शुक्रबार, २६ मंसिर २०७७, ०९ : ५९
विवाह खर्च कटौती गरेर अक्षयकोष स्थापना

किमाथाङ्का । सङ्खुवासभाको खाँदबारी नगरपालिका–८ का पवन बजागाईँले विवाह खर्च कटौती गरेर अक्षयकोष स्थापना गरेका छन् । आर्थिक अवस्था कमजोर भएर उच्च शिक्षा अध्ययनमा समस्या भएका विद्यार्थीलाई सहयोग पुर्याउने उद्देश्यले अक्षयकोषको स्थापना गरेको बजगाईँले बताए ।  नेपाली सेनामा कार्यरत बजगाईँले विवाहको खर्च कटौती गरेको रकमले अक्षयकोष स्थापना गरेका हुन् ।

बजगाईँले भने, “विवाहका लागि छुट्याएको रकम कटौती र टीका लगाएर जम्मा भएको रकमबाट गरिब विद्यार्थीको भविष्य उज्ज्वल बनोस् भनेर कोषको स्थापना गरेको हूँ ।” आफू नेपाली सेनामा कार्यरत रहेकाले सैनिक र नागरिक सम्बन्ध विस्तारमा समेत सहयोग पुर्याउने लक्ष्यले कोष स्थापना गरेको उनको भनाइ छ ।

बजगाईँले वैवाहिक जीवनको शुभारम्भको अवसरमा वरुण बहुमुखी क्याम्पस खाँदबारीमा रु एक लाख २५ हजार ५२५ को अक्षयकोष स्थापना गरेका हुन् । उनले आफ्ना बुवाआमा ‘रोहितप्रसाद, पदमकुमारी र तुलसा बजगाई’ अक्षयकोष स्थापना गरेका हुन् । दम्पती पवन र समीक्षाले विवाहकै दिन एक कार्यक्रम गरी क्याम्पसका सहायक प्रमुख चित्ररेखा अधिकारीलाई रकम हस्तान्तरण गरेका छन् ।

त्यसैगरी जिल्लामा स्थापना हुन लागेको ब्लड बैंक सञ्चालनका लागि हजुरआमा भद्रमायाको नाममा रु ११ हजार १११ हस्तान्तरण गरेका छन् । विवाह शुरुवातीकै अवसरमा बजगाईँले महेन्द्र माध्यमिक विद्यालय मानेभञ्ज्याङमा अध्ययनरत सुस्त श्रवण तथा बाहिरा स्रोत कक्षाका विद्यार्थीलाई लत्ताकपडा समेत सहयोग गरेका छन् । 

प्रतिक्रिया दिनुहोस