रियल म्याड्रिड अन्तिम १६ मा पुग्न सफल

एजेन्सी

विहीबार, २५ मंसिर २०७७, ०९ : ११
रियल म्याड्रिड अन्तिम १६ मा पुग्न सफल

लन्डन । युरोपेली च्याम्पियन्स लिगमा  करिम बेन्जेमाले हेडबाट गरेको दुई गोलमा रियल म्याड्रिडले बुधबार बोरुसिया मुन्छेनग्लाडबाखलाई २–० ले हरायो ।  यो जितपछि रियल अन्तिम १६ मा पुग्न सफल रह्यो । मुन्छेनग्लाडबाख पनि समूह ‘बी’ बाट नकआउट चरण पुग्ने अर्को टिम बन्यो ।

बेन्जेमाले नवौं मिनेटमा पहिलो र ३२औं मिनेटमा दोस्रो गोल गरेका थिए । समूहको अर्को खेलमा इन्टर मिलान र साख्तर डोनेस्कले गोलरहित बराबरी खेलेपछि मुन्छेनग्लायडबाख अगाडि बढ्न सकेको हो । यो नतिजाले इन्टर भने प्रतियोगिताबाट बाहिरिएको छ ।

जिनेदिन जिदानको रियल १० अंकसहित शीर्ष स्थानमा छ भने मुन्छेनग्लाडबाख आठ अंकसहित दोस्रोमा । समूह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले लोकोमोटिभ मस्कोलाई २–० ले हरायो । यस्तै एटलेटिको म्याड्रिडले दोस्रो चरणमा स्थान सुरक्षित गर्न साल्सबर्गलाई २–० ले हरायो ।

समूह ‘सी’ मा म्यानचेस्टर सिटीले मार्सेलाई ३–० र पोर्टोले ओलम्पियाकोजलाई २–० ले हराएका छन् । सिटी र पोर्टो यसअघि नै नकआउट चरण पुगिसकेका छन् । समूह ‘डी’ मा लिभरपुल र मिडट्जल्यान्डले १–१ को बराबरी खेले । यस्तै एटलान्टाले आयाक्सलाई १–० ले हरायो ।

प्रतिक्रिया दिनुहोस