सप्तरीको तिलाठीमा सशस्त्र र नेपाल प्रहरीबीच झडप

पत्रपत्रिकाबाट

विहीबार, २५ मंसिर २०७७, ०७ : ४१
सप्तरीको तिलाठीमा सशस्त्र र नेपाल प्रहरीबीच झडप

राजविराज । नेपाल–भारत सीमा नाका सप्तरीको तिलाठीमा बुधबार दिउँसो सशस्त्र र नेपाल प्रहरीबीच झडप भएको छ । तिलाठी –कुनौली नाका अन्तर्गत तिलाठी नजिक खाडो खोलाको छेउमा रहेको सशस्त्र प्रहरीको चेकजाँचस्थल नजिक सादा पोसाकमा रहेका नेपाल प्रहरी र ड्युटीमा रहेका सशस्त्र प्रहरीबीच झडप भएको प्रत्यक्षदर्शीले जानकारी दिए ।

भारतबाट नेपाल आइरहेकाहरुलाई चेक गर्ने क्रममा दुवै सुरक्षा निकायका जवानबीच भएको विवाद गालीगलौज हुँदै हात हालाहाल सम्म पुगेको ती प्रत्यक्षदर्शीले बताए । कोरोना महामारीपछि नेपाल सरकारले सीमा सिल गरेको भएपनि सीमामा दैनिक सयौंको संख्यामा मानिस ओहोरदोहोर गर्ने गरेका छन् भने तस्करी मौलाएको छ ।

सदरमुकाम राजविराजबाट सादा पोसाकमा गएको नेपाल प्रहरीको टोली सशस्त्रको चेकजाँचस्थल नजिक भारतबाट आउँदै गरेकाहरुलाई चेक गर्न थालेपछि दुवै सुरक्षा निकायबीच भनाभन सुरु भएको थियो ।

सशस्त्र प्रहरी बलको तिलाठी बीओपीका सशस्त्र प्रहरी निरीक्षक सुशिल केसीले दुवै सुरक्षा निकायका जवानबीच ुमिस अन्डरस्ट्यान्डिङु भएको बताए । ‘नेपाल प्रहरीका साथीहरु सादा पोसाकमा हाम्रो चेकजाँचस्थ्ल नजिक आएका थिए,पारीबाट आउनेहरुसित जथाभावी कुरा गर्न थालेपछि हाम्रो जवानहरुले कहाँबाट आएको भनेर सोधपुछ गर्ने क्रममा मिस अन्डरस्ट्यान्डिङ भएको हो,’केसीले भने । जिल्ला प्रहरी कार्याल्य सप्तरीका डीएसपी भुवनेश्वर साहले घटनाबारे बुझिरहेको बताए । ‘सामान्य केही विवाद भएको हो भन्ने खबर आएको छ,विस्तृत रुपमा बुझदैछु,’ डिएसपी साहले भने । कान्तिपुर दैनिकमा खबर छ ।