२२ तले धरहराको तीव्र गतिमा निर्माण, २०औं तलाको काम सकियो

सफल खबर संवाददाता

आइतबार, २१ मंसिर २०७७, १४ : ३९
२२ तले धरहराको तीव्र गतिमा निर्माण, २०औं तलाको काम सकियो

काठमाडौं । २२ तले धरहराको दु्रतगतिमा निर्माण काम भइरहेको छ । २०औं तलाको काम पनि सकिएको छ ।  विनाशकारी ‘गोरखा भूकम्प’ले ढलाएको धरहरा नयाँ स्वरूपमा निर्माण भइरहेको छ । 

धराहराको भित्रबाट २२ तलाको भएपनि बाहिरबाट भने ११ तलाजस्तै देखिनेछ । धरहरा पुनःनिर्माणको काम गरिरहेको जीआईईटीसी रमन–जेभीले गएको असोजमा काम सक्नुपर्ने थियो । कोरोना महामारीका कारण केही समय काम रोकिएको कम्पनीले जनाएको छ ।

निर्माण कम्पनीले लकडाउन’को समयमा काम गर्न नपाएको भन्दै थप २१ महिना माग गरेको थियो । तर, प्राधिकरणले नौ महिना अवधि थपेको छ । अब करिब दुई तलाको मात्रै काम बाँकी रहेको छ । धरहराको उचाइ बढ्दै गएकाले हावाको वेगले काम गर्न केही कठिनाइ भएको छ । दैनिक १०० हाराहारीमा कामदारहरू निर्माणमा खटिएका छन् । मध्यरातिसम्म पनि काम हुने प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठले जानकारी दिएका छन् । 

धरहरामा गजुर पनि राखिनेछ । संग्रहालय पनि रहनेछ । बालबालिका, वृद्धवृद्धा र अपाङ्गतामैत्री हुने जनाइएको छ । करिब तीन अर्ब ४८ करोड रुपैयाँको लागतमा धरहरा बन्न लागेको हो ।  विसं १८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले बनाउन लगाएको धरहरा ११ तलाको थियो । १९९० माघ २ को महाभूकम्पमा भत्किएपछि नौतले भयो । ०७२ वैशाख १२ को भूकम्पमा पूर्णरुपमा क्षति पुगेसँगै अहिले २२ तले बन्न लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस