यसरी तुहियो गृहमन्त्री रामबहादुर थापा ‘बादल’को बेग्लै प्रस्ताव !

सफल खबर संवाददाता

आइतबार, २१ मंसिर २०७७, ०८ : ५७
यसरी तुहियो गृहमन्त्री रामबहादुर थापा ‘बादल’को बेग्लै प्रस्ताव !

काठमाडौं । सत्तारुढ दल नेकपा बैठकमा गृहमन्त्री रामबहादुर थापा (बादल) ले राखेको प्रस्ताव अस्वीकृत भएको छ । उनले शनिबारको सचिवालय बैठकमा पार्टीका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डका बीचमा देखा परेको विवाद समाधानका लागि कार्यदल बनाउने प्रस्ताव गरेका थिए । 

उनले दुवै अध्यक्षका प्रस्तावलाई सचिवालयबाटै मिलाएर साझा प्रस्ताव तयार पार्ने र त्यसरी तयार हुने प्रस्तावलाई मात्र स्थायी समिति बैठकमा लिएर जानुपर्ने प्रस्ताव गरेका थिए । त्यस्तो प्रस्ताव तयार पार्न उनले ३ सदस्यीय कार्यादल बनाउन पनि सचिवालयमा प्रस्ताव गरेका थिए  । ‘दुवै प्रस्तावलाई साझा मिल्न सक्ने सम्म मिलाएर एउटै प्रस्ताव बनाएर स्थायी कमिटिमा लैजाऔं, त्यसका लागि दुई अध्यक्षले सक्नुभएन । उहाँहरुहरुको आ–आफनै मत छन, प्रस्ताव एक गर्न उहाँहरुबाट अब सम्भव पनि देखिएन् । सचिवालयले आएका दुवै प्रस्तावलाई एउटै बनाउनका लागि ३ सदस्यीय एउटा कार्यदल बनाऔं ।’ थापाले बैठकमा भनेका थिए,–‘ त्यो कार्यदलले दुवै प्रस्तावलाई मिलाउने गरी साझा प्रस्ताव तयार पार्ने काम गरौं । सचिवालयले यसरी जाँदा राम्रो होला ।

पार्टी भित्रको संकट समाधान गर्न मद्दत पनि पुग्ला ।  पार्टीमा आरोप प्रत्यारोप मात्र लगाउने गरी जाने हो भने त्यसले पार्टी विभाजन निम्ताउन सक्छ । त्यस्तो विभाजन पार्टी जनता र राष्ट्र कसैको हितमा पनि हुदैन । एकता जोगाउनका लागि यसरी जाँदा राम्रो हुन्छ भन्ने यो मेरो प्रस्ताव हो ।’ थापाले त्यस्तो प्रस्ताव राख्ने बित्तिकै महासचिव विष्णु पौडेल, सचिवालय सदस्य तथा उपप्रधानमन्त्री इश्वर पोखरेल र प्रधानमन्त्री ओलीले समर्थन जनाएका थिए । बादलले यो प्रस्ताव राख्नु अगाडी पनि आफुले यस्तो प्रस्ताव राख्ने तयारी गरेको ओली र उनी निकटका केही नेताहरुसँग जानकारी गराएका थिए ।

बादलको त्यस्तो प्रस्ताव पनि आफ्ना लागि संकट टार्ने एउटा नयाँ अस्त्र हुन सक्ने ओलीले ठानेका थिए । त्यसकारण पनि उनले बादलको प्रस्तावमा एकदमै राम्रो प्रस्ताव बादलजीले ल्याउनु भयो भन्दै त्यसरी जाऔं भन्ने कुरा गरेका थिए ।  तर प्रचण्ड र नेपाल सहित उपाध्यक्ष बामदेव गौतम, झलनाथ खनाल र प्रवक्ता श्रेष्ठले भने त्यसमा सहमति जनाएनन् । ‘अहिले सचिवालयमा कार्यदल बनाउने भन्ने तिर नअल्झिउ, सचिवालयमा आएका दुवै प्रस्ताव हामी दुई जनाका आ–आफना रहे । यसलाई स्थायी समिति बैठकमा लैजाऔं, त्यहीबाट छलफल गरौं । जे हुन्छ त्यहीबाट निकास निकाल्ने तिर जाऔं । त्यहाँ जाँदा कार्यदल बनाउने कुरा आए, त्यही कुरा गरौंला, अहिले सचिवालयमा कार्यदल बनाउने तिर जाने कुरा नगरौं । स्थायी समितिमा दुवै्र प्रस्ताव लगेर छलफल गरौं,’ बादलले ल्याएको कार्यदल बनाउने प्रस्तावमा असहमति जनाउदै प्रचण्डले भने । 

ओलीले भने थापाको प्रस्तावमा समर्थन गर्दै भनेका थिए,–‘पहिले साझा प्रस्ताव तयारी नगरी स्थायी समितिमा जाने कुरा गर्नुहुदैन भन्ने तर्क गर्दै आएको छु । गृहमन्त्रीजीको कार्यदल बनाउने कुरा पनि राम्रो प्रस्ताव आयो । ३ सदस्यीय बनाउने कुरा पनि सही छ । उपाध्यक्ष वामदेव कमरेडको नेतृत्वमा बनाऔं । बादल जी र महासचिव पनि रहेको कार्यदल बनाएर लैजाऔं । उहाँहरुले साझा प्रस्ताव बनाएपछि, सहमतिको लागि खाका कोरेपछि त्यसलाई सचिवालयमा छलफल गरेर मात्रै स्थायी समिति बैठकमा जाऔंला ।’

महासचिव विष्णु पौडेल र पोखरेलले पनि थापाको त्यस्तो प्रस्तावमा सहमत जनाएका थिए । तर सचिवालयका धेरैजसो नेताहरुले कार्यदल सचिवालयमा बनाउने भन्दा पनि दुवै प्रस्ताव स्थायी समितिमा लैजाने र त्यही छलफल गर्नुपर्ने भनाई राखेपछि थापाले गरेको प्रस्ताव अनुसारको कार्यदल गठन सचिवालय बैठकबाट हुन सकेन् । थापालाई शुक्रबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा भेट गरेकी थिइन् । राष्ट्रपति भण्डारीले नेकपाको विवादमा प्रत्यक्ष चासो राख्दै हस्तक्षेपकै तहमा नेताहरुलाई शितल निवास बोलाउने र ओलीलाई सहयोग पुग्ने गरी भूमिका निर्वाह गरिरहेकी छिन् ।

त्यही क्रममा राष्ट्रपति भण्डारीले शुक्रबार बादललाई शितल निवास बोलाएर ढेड घण्टा छलफल गरेकी थिइन् । यस अगाडी कात्तिक २० मा पनि राष्ट्रपति भण्डारीले बादललाई बोलाएर छलफल गरेकी थिइन् । पूर्व माओवादी धारका नेता तर अहिले ओलीलाई साथ दिदै आएका बादलले अलिक सक्रिय भूमिका निर्वाह गरेर दुई अध्यक्ष मिलाउन सक्ने ठानी राष्ट्रपतिले उनलाई भेट गरेकी थिइन् ।

त्यहाँ भण्डारीले दुई अध्यक्षलाई मिलाउने गरी सक्रिय भूमिका निर्वाह गर्न गृहमन्त्रीसँग आग्रह गरेकी थिइन् । राष्ट्रपतिको भेट पछि नै थापाले दुवै अध्यक्षको प्रस्तावमा सहमति खोज्न कार्यदल गठनको बेग्लै प्रस्ताव सचिवालय बैठकमा राखेका थिए । तर उनको प्रस्तावमा पार्टीका बहुमत नेताले रुची नदेखाएपछि उनको प्रस्ताव त्यक्तिकै सचिवालयमा अस्वीकृत भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस