काठमाडौँ । परीक्षणको अन्तिम चरणमा रहेका कोभिड–१९ विरुद्धका चार खोपको चर्चा चलिरहेका बेला नेपाली विज्ञहरूले २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिने खोपमा विशेष चासो देखाइरहेका छन् । फाइजर(बायोएनटेकबाहेक अक्सफोर्ड–अस्ट्राजेनेका, मोडर्ना र ग्यामेलिया इन्स्टिच्युटको खोप यहाँ उपयुक्त हुन सक्ने उनीहरूको भनाइ छ ।
अक्सफोर्ड–अस्ट्राजेनेकाले तयार पारेको एजेडडी १२२२ र रुसको ग्यामेलिया इन्स्टिच्युटले विकास गरेको स्पुतनिक–५ कम मूल्य पर्ने देखिएका छन् । स्पुतनिक खोपको भाइल माइनस १८ डिग्री सेल्सियसभन्दा तल्लो तापक्रममा भण्डारण गर्नुपरे पनि यसको सुक्खा संस्करण २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । हाल मुलुकमा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवामा १५ महिनासम्मका बालबालिकालाई १२ वटा एन्टिजेन (गविरुद्ध खोप) दिइराखिएको छ । यी खोप २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्ने गरिएको छ । राजधानीलगायतका केही ठाउँमा माइनस २० डिग्री सेल्सियसमा भण्डारण गर्ने क्षमतासमेत छ ।
‘सरकारले कोभिड खोपको बजारमा उपलब्धता, लागत, कोल्ड चेन, परिवहन आदिका लागि उपलब्ध पूर्वाधार एवं गुणस्तर, सुरक्षा र प्रभावकारितालाई मुख्य प्राथमिकता दिएर बुझिरहेको छ,’ स्वास्थ्य मन्त्रालयको खोपसम्बन्धी आधिकारिक निकाय बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। झलक शर्मा गौतमले भने, ‘हामीलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने खोप परिवहन र लगाउनसमेत सहज हुन्छ ।’ उनले अक्सफोर्ड–अस्ट्राजेनेका खोपले बेलायतमा आकस्मिक उपयोगको अनुमति पाएपछि प्रक्रिया पुर्याएर भारतमा समेत प्रयोग हुने सम्भावना रहेको बताए । डा। गौतमले खोप लगाउने रणनीतिक योजना पनि तयार गरिरहेको जानकारी दिए ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं कोभिड खोप व्यवस्थापन समितिका सदस्य डा। जीडी ठाकुरले २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने सुरक्षित र प्रभावकारी खोप नै ल्याउन उपयुक्त देखिएको बताए । ‘मुलुकभरि लगाउन्जेलसम्म गुणस्तर सुनिश्चितताका लागि खोपको कोल्ड चेन कायम राख्नु हाम्रा लागि अत्यन्त महत्त्वपूर्ण हुनुका साथै चुनौतीपूर्णसमेत छ,’ उनले भने । विज्ञहरूले नेपालका लागि सहज रूपमा उपलब्ध हुने, सजिलै भण्डारण तथा ओसारपसार गरेर लगाउन सकिने अत्यन्त प्रभावकारी खोप उपयुक्त हुने बताउँदै आएका छन् । उनीहरूका अनुसार नेपालको जटिल भौगोलिक अवस्थाका कारण सामान्य ‘आइसबक्स’ मा दुई–तीन दिनसम्म समेत खोप सुरक्षित रूपमा राख्न सकिने खालको हुनुपर्छ ।
डा. ठाकुरले मुलुकमा हाल उपयोग भइरहेकोभन्दा कम तापक्रममा भण्डारण गर्नुपर्ने अवस्थाका लागि संरचना फेर्न सरकारले अतिरिक्त बजेट व्यवस्था गर्नुपर्ने पनि बताए । ‘कोभिड खोप निःशुल्क पाउन गाह्रो छ, खोप खरिदका लागि पैसा खर्च गरेपछि भण्डारण, ओसारपसारलगायतका लागि पैसा खर्च गर्नुपरेन भने मुलुकका लागि धेरै राहत हुन्छ,’ उनले भने । विश्वका चार ठूला फार्मा कम्पनीले आ–आफ्नो कोभिड खोपको मूल्यसँगै यसको मात्रालगायतबारे समेत बताएका छन् ।
यी कम्पनीहरूले खोपबारे आधिकारिक रूपमा जारी गरेको अद्यावधिक विवरणअनुसार तिनको प्रभावकारिता बढाउन गृहकार्य भइरहेको छ । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। गौतमका अनुसार हाल एक डोज अक्सफोर्डको खोपको ३ देखि ४ डलर, फाइजरको २० डलर, मोडर्नाको २५ देखि ३७ डलर र स्पुतनिक–५ को १० डलर मूल्य पर्ने देखिएको छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ११ मंसिर २०७७, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जाँचपास नभएको ५० हजार बोरा मल अलपत्र
शैक्षिकसत्र जेठसम्म लम्ब्याउने तयारी
रसुवागढी नाकाबाट एक वर्षदेखि निर्यात ठप्प
नेकपाका दुबै समूह आन्तरिक छलफलमा
प्रतिनिधिसभा विघटनको विरुद्धको नागरिक आन्दोलनमाथि निर्मम दमन
गढिमाई मन्दिरमा टिकटक प्रतिबन्ध