प्रचण्डको प्रस्तावको खण्डनपत्र लेख्न ओलीले थाले गुटमा परामर्श

विष्णु रिमाललाई मस्यौदा बनाउने जिम्मा, प्रदीप ज्ञवाली र शंकर पोखरेलले सहयोगीका रुपमा साथ दिने

सफल खबर संवाददाता

शुक्रबार, ०५ मंसिर २०७७, ०९ : ०६
प्रचण्डको प्रस्तावको खण्डनपत्र लेख्न ओलीले थाले गुटमा परामर्श

काठमाडौं । पार्टी अध्यक्ष प्रचण्डको प्रस्तावको खण्डनपत्र लेख्ने र आगामी वैठकमा पेश गर्ने गरी १० दिनको समय माग गरेका प्रधानमन्त्री केपी ओलीले आफनो टिममा छलफल थालेका छन् । आगामी रणनीति कस्तो बनाउने ? प्रचण्डको प्रस्तावमा कस्तो खण्डनपत्र लेख्ने भन्नेमा केन्द्रीत रहेर प्रधानमन्त्री ओलीले आन्तरिक परामर्श थालेका हुन् । 

उनले प्रचण्ड प्रस्तावको काउन्टर प्रस्तावको मस्यौदा के कस्तो लेख्ने भन्ने विषयमा पारम्भिक खाका तयार पार्न मुख्य सल्लाहकार विष्णु रिमाललाई जिम्मा दिएका छन् । उनले त्यसको लागि पारम्भिक विषय के कस्ता उल्लेख गर्ने भन्नेमा विहिवार साझ आफु निकट नेताहरुसँग परामर्श समेत गरेका छन् । साझ ५ वजे ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ५ का मुख्यमन्त्री समेत रहेका स्थायी समिति सदस्य शंकर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र आफना मुख्य सल्लाहकार विष्णु रिमाललाई सँगै राखेर छलफल गरेका थिए ।

ज्ञवाली, पोखरेल, ढकाल र नेम्वाङ ओलीका राजनीतिक दस्तावेज लेखनका सहयोगीका रुपमा पनि चिनिदै आएका नेता हुन् । प्रचण्डको प्रस्तावमा कुन विषयमा कस्तो काउन्टर प्रस्ताव लेख्ने भन्नेमा नेताहरुले झण्डै दुई घण्टा परामर्श गरेका थिए । प्रचण्डको प्रस्तावको काउन्टर प्रस्ताव लेख्ने भन्दा त्यो प्रस्ताव नै फिर्ता गराउन पहल लिनुपर्ने धारणा राख्दै आएका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पनि वैठकमा सहभागी थिए । त्यहाँ नेताहरुले प्रचण्डको प्रस्तावमा ७२ ओटा सम्म प्रधानमन्त्री ओलीलाई आरोप लगाइएको र त्यसको मसिनो गरी वुदागत रुपमा नै जवाफ लेख्ने तयारी गरेका छन् ।

प्रचण्डको अन्तिम पत्रको पनि जवाफ लेख्ने र छुटै प्रस्तावको पनि खण्डनपत्र लेख्ने गरी ओली समुहले तयारी थालेको छ । ‘केही गाइडलाइन प्रधानमन्त्रीले पनि दिनुभएको छ, अन्य नेताहरुका पन कतिपय विषय र सुझाव आएका छन्, यी सबैलाई समेटेर पहिले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल जीले प्रस्तावको डाफ्ट गर्नुहुन्छ,’ वालुवाटार स्रोतले सफलखबरसँग भन्यो,–‘त्यसपछि मात्र फेरि प्रधानमन्त्री सहित नेताहरु वसेर त्यसलाई अन्तिम रुप दिने तयारी छ । कम्तीमा २, ३ दिनमा यो प्रस्ताव तयार भईसक्छ ।’

ओली पक्षले आन्तरिक प्रस्ताव लेखन समुह र संसदीय दलमा बहुमत जुटाउन गर्नुपर्ने पहलकदमीका लागि प्राविधिक समुह समेत बनाएर परिचालन गर्ने गरी अगाडी बढेको छ । संसदीय दलमा बहुमत जुटाउनका लागि नेम्वाङ, भानुभक्त ढकाल, गोकुल वास्कोटा, महेश बस्नेत लगायतको टिम परिचालन गर्ने तयारी गरेको छ ।

प्रचण्डको प्रस्तावको खण्डन पत्र तयार पार्न विष्णु रिमाललाई मुख्य जिम्मेवारी र साथमा सहयोगी जिम्मेवारीका रुपमा शंकर पोखरेल र प्रदीप ज्ञवालीलाई जिम्मा दिएको छ । पोखरेल र ज्ञवालीले विषयगत रुपमा सहयोगीको भूमिका रिमाललाई पु¥याउनेछन् । ओली पक्षले प्रचण्ड माधव नेपाल पक्षले अब लिन सक्ने रणनीतिको समेत ब्याख्या गदै त्यसको काउन्टर जवाफ कसरी दिने भन्ने सम्मको रणनीतिमा छलफल गरेको वालुवाटार स्रोतले बताएको छ । 

पार्टी एकतापूर्वको अवस्था फकाउने प्रयास
नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी वीच २०७५ जेठ ३ मा पार्टी एकता बनेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको हो । यसका त्यसवेला दुई अध्यक्ष महाधिवशेन सम्म कायम राख्ने, जनताको वहुदलीय जनवाद, एक्काइशौं शताब्दीको जनवाद र माओवादलाई माहाधिवशेन सम्म थाती राख्ने र तत्कालका लागि जनताको जनवादलाई राजनीतिक कार्यदिशा वनाएर अगाडी जाने समझदारीका साथ पार्टी एकता भएको थियो । 

तर त्यसयता प्रधानमन्त्री ओलीको गतिविधिका कारण पार्टी भित्र सधै समस्यै समस्या मात्र देखा परयो । पार्टीभित्र प्रधानमन्त्री ओलीको प्रवृतिले पार्टी र सरकार दुवैलाई गतिहिन बनाउदै लग्यो । त्यसपछि वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सम्मको साथ लिएर प्रचण्डले ओली प्रवृति उजागर गर्ने गरी कात्तिक २८ को सचिवालय वैठकमा १९ पृष्ठको राजनीतिक प्रस्ताव पेश गरे ।

पार्टीभित्र देखा परेको समस्या र त्यसको समाधानका लागि प्रचण्डले पार्टीमा छलफलका क्रममा राखेको प्रस्तावमा प्रधानमन्त्री ओलीको राष्ट्रवाद नक्कली भएको, यति होल्डिङ्सदेखि ओम्नी समूहसम्म साँठगाँठ गरेको, बजेटअघि राजस्वको दर रेट सम्बन्धी सूचना चुहाएको, एमसीसीमा पार्टीलाई ढाँटेको, समकक्षी नेताहरूलाई विभिन्न लोभ, प्रलोभन देखाउने गरेको, व्यक्तिवादी प्रवृत्ति हावी भएको, संघीयता विरोधी गतिविधि गरेको, पार्टी विभाजनको कोसिस गरेको, स्थायी समितिले गरेको निर्णय कार्यान्वयनमा उदासिनता देखाएको जस्ता विषय उठाईएका छन् । 

पार्टीमा अहिले देखिएको समस्याको प्रमुख जिम्मेवार प्रधानमन्त्री एवंम पार्टी अध्यक्ष ओली भएको आरोप लगाउदै दाहालले प्रधानमन्त्रीले प्रमुख रुपमा गम्भीर आत्मसमिक्षा र आत्माआलोचना गर्दै पार्टी एकता, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा एवम् देशको निर्माणमा आवश्यक त्याग सहित पहल लिई समुचित योगदान गर्नुपर्ने प्रचण्डको प्रस्तावमा उल्लेख भएपछि अप्ठायारोमा परेका ओलीले पार्टी एकता भंग भएको घोषणा गर्ने तयारी गरेका छन् ।

वुधबारको सचिवालय वैठकमा ओलीले प्रस्तुत गरेका तर्कले त्यसलाई बल पुगेको देखिन्छ । पूर्व एमालभित्रका पनि माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायत नेताहरु ओलीको कार्यशैलीसँग असहमत भई प्रचण्डसँग सहकार्य गरेर अगाडी बढेपछि ओली प्रचण्ड, नेपाल को समिकरण करी भत्काउन सकन्छि भनेर अगाडी बढिरहेका छन् । त्यही क्रममा उनले पूर्व समुहका रुपमा अगाडी जान तयार हुनुपर्ने जस्ता तर्क अगाडी सारेका हुन् । 

पार्टीमा कमजोर भएपछि नेताहरुका वीचमा फुटाउ र राज गरको नीति अख्तियार गर्दै  आएका ओलीले बेमौसमी बाजाका रुपमा जनताको वहुदलीय जनवादको तर्क अगाडी सारेर अहिले त्यही खेलेमेलो गरिरहेका छन् । तर अब ओलीले पार्टी विभाजनको अवस्था निम्ताएपनि पूर्व पार्टीका रुपमा अबको कम्युनिष्ट पार्टी अगाडी नबढने प्रष्टै देखिएको छ ।