सशस्त्र प्रहरीलाई विमानस्थलमा खटाउने तयारी

पत्रपत्रिकाबाट

विहीबार, ०४ मंसिर २०७७, ०८ : ०७
सशस्त्र प्रहरीलाई विमानस्थलमा खटाउने तयारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा सशस्त्र प्रहरी बल (एपीएफ) को संयन्त्र राख्न गृह मन्त्रालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाएको छ ।

गृहले पर्यटन मन्त्रालयअन्तर्गतको नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेख्दै अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजनामा एपीएफको युनिट राख्न प्रस्ताव गरेको हो । गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले विमानस्थल सुरक्षार्थ एपीएफलाई स्थान उपलब्ध गराउन समन्वय गरिएको बताए । 

एपीएफले १० वर्षे सशस्त्र द्वन्द्वकै बेला विमानस्थलभित्र आफ्नो संरचना राख्न लबिइङ गरेको थियो । त्यतिबेलै सिनामंगलस्थित प्राधिकरणको जग्गामा आतंककारी गतिविधि नियन्त्रण र विमानस्थलको बाहिरी सुरक्षाका लागि भन्दै सशस्त्रको गण पनि स्थापना गरियो ।

पछि सशस्त्र प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण संशोधनका क्रममा त्यस गणलाई ‘विपद् उद्धार गण’ का रूपमा विकास गरिएको छ । अन्तर्राष्ट्रिय सीमा सुरक्षाको जिम्मा आफ्नो भएको भन्दै एपीएफले विमानस्थलमा पनि उपस्थिति खोजेको थियो । तर नेपाली सेना, नेपाल प्रहरी र पर्यटन मन्त्रालयले विरोध जनाएपछि उसको उपस्थिति विमानस्थलभित्र छैन । कान्तिपुरमा खबर छ । 

प्रतिक्रिया दिनुहोस