दस दिने ‘युद्धविराम’ अगाडि नेकपा बैठकमा के–के भयो ?

विहीबार, ०४ मंसिर २०७७, ०७ : ५३
दस दिने ‘युद्धविराम’ अगाडि नेकपा बैठकमा के–के भयो ?

काठमाडौँ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला बुधबार बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठकमा नेताहरुले एक अर्कामाथि आंशका व्यक्त गरेका छन् । तर, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालले आफूमाथि लगाएका आरोपको लिखितरुपमै जवाफ दिने र त्यसका लागि दस दिनको समय चाहिने बताएपछि बैठक मंसिर १३ सम्मका लागि स्थगित भएको छ । अर्थात् नेकपा विवाद केही दिन पछाडि धकेलिएको छ । 

बुधबार नेताहरुबीच जे जस्ता आंशकापूर्ण अभिव्यक्ति र घोचपेच भएका छन्, त्यसले अर्को बैठक पनि सहज नहुने संकेत भने स्पष्टरुपमै मिलेको छ । यद्यपि बुधबार बिहानसम्म प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली बैठकमा सहभागी हुने वा नहुने भन्ने निश्चित भइसकेको थिएन । दस बजेपछि मात्रै बालुवाटारबाट ओली बैठकमा सहभागी हुने सूचना खुमलटार पुगेको थियो । बुधबार कम्तीमा सहमतिमै बैठक बसेर आइलाग्ने सभ्भावित एउटा दुर्घटना भने तत्कालका लागि टरेको छ ।

लगभग निर्धारित समयमै बैठक सुरु भएपछि अध्यक्ष दाहालले प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई आफ्ना कुरा राख्न भनेका थिए । त्यसपछि बोलेका ओलीले दाहालले ल्याएको र सचिवालयका बहुमत सदस्यको समर्थन रहेको प्रस्तावबारे आफ्नो मत सुनाएका थिए । कात्तिक २८ मा दाहालले १९ पेजको प्रस्ताव राखेपछि औपचारिक रुपमा ओली केही बोलेका थिएनन् । यद्यपि ओली निकट नेताहरुले आरोप अंस्वीकार गर्दै बैठक बस्नका लागि प्रस्ताव फिर्ता लिनुपर्ने अडान राखेका थिए ।

बैठकमा ओलीको अभिव्यक्तिमा सचिवालयका सबै नेताको विशेष चासो थियो । ओलीले दाहालको प्रस्तावमा लगाइएका आरोपलाई सिधै खण्डन गरे । ‘कमरेड प्रचण्डले मेराविरुद्ध प्रस्ताव नामको एउटा अभियोग पत्र ल्याउनु भएको छ । त्यो अभियोग पत्रलाई म अस्वीकार गर्छु । मैले उहाँको चिठीको पनि अर्को चिठी लेख्छु र त्यो प्रस्तावको खण्डन गर्दै अर्को प्रस्ताव ल्याउँछु’ ओलीको भनाई उद्धृत गर्दै सचिवालयका एक सदस्यले भने ।

नेकपामा सुरुमा २२ कात्तिकमा अध्यक्ष दाहालसहित सचिवालयका बहुमत सदस्य वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालयको बैठकको माग गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई पत्र बुझाएका थिए । पार्टी र सरकार सञ्चालनका केही प्रश्नसहित आफूलाई बुझाइएको पत्रको ओलीले कात्तिक २५ मा लिखित रूपमै जवाफ दिएका थिए ।

ओलीले आफूमाथि निसाना लगाएर जवाफ लेखेपछि दाहालले कात्तिक २८ मा फेरि ओलीलाई जवाफी पत्र लेखेका थिए । त्यसैदिनको सचिवालय बैठकमा बहुमत सदस्यको तर्फबाट दाहालले राजनीतिक प्रस्ताव पेस गरेका थिए । यस अर्थमा ओलीले दाहालको दोस्रो चिठीको पनि जवाफ दिने स्पष्ट पारेका छन् । सचिवालयका ती सदस्यका अनुसार ओलीले अर्को प्रस्ताव ल्याउने बताएपछि दाहालले कति दिन लाग्छ भनेर प्रश्न गरेका थिए । जवाफमा ओलीले दस दिन लाग्ने बताएका थिए । प्रधानमन्त्री ओलीले समय मागेपछि सबै सदस्य मंसिर १३ को बैठकका लागि सहमत भएका थिए ।

दस दिने ‘युद्धविराम’मा जान सहमत भए पनि दुवै समूहमा आंशका भने उस्तै छन् । दाहाल र नेपाल निकट नेताहरुले २८ कात्तिकमा आफ्नाविरुद्ध प्रस्ताव ल्याएपछि ओलीले अध्यादेश ल्याउने प्रक्रियामाथि छलफल गरेको, संसद विघटनको बारेमा समेत परामर्श गरेको तर त्यो विकल्प सम्भव नभएपछि संसदीय दलमा बहुमत पुर्‍याउने खेलमा लाग्न दस दिनको समय मागेको आंशका गरेका छन् । ‘दलमा बहुमत पुर्‍याउन र प्रस्तावको खण्डन गर्न समय लिएका हुन् भन्ने हाम्रो बुझाई छ,’ दाहाल–नेपाल निकट सचिवालयका एक सदस्यले दावी गरे ।

गम्भीर आरोप र अप्रत्यक्षरुपमा राजीनामाकै माग गरेर अध्यक्ष दाहालले छुट्टै राजनीतिक प्रस्ताव पेस गरेपछि दबाबमा आएका प्रधानमन्त्री एवं अध्यक्ष ओलीले पार्टीभित्रको पछिल्लो समीकरण भत्काउने कोसिस गरेका थिए । तर, यसमा उनलाई सफलता नमिलेपछि बुधबार बैठक बस्न तयार भएका थिए । वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीले दस दिनको समय मागेपछि बैठकको मितिमाथि हेलचक्राई नगर्न सुझाव दिएका थिए । ‘हामीले छलफल गरेर निकास निकाल्ने हो । उहाँ ९ओली० ले प्रस्ताव ल्याउछु भन्नु भयो त्यो राम्रो कुरा हो । दस दिन चाहिन्छ भन्नु भयो त्यो पनि ठिकै छ । तर, समय लम्बाउने मात्रै काम नहोस् । बैठकको मितिमाथि हेलचक्राई गर्ने काम नहोस्,’ नेता नेपालको भनाई उद्धृत गर्दै ती सदस्यले भने ।

बैठकमा उपाध्यक्ष गौतमले भनेका थिए, ‘कहिलेकाहीं प्रस्तावकै रुपमा आरोपहरु आउँछन् । त्यो कुरा नयाँ होइन । पहिला एमालेमा पनि यस्तो भएको थियो । ओली कमरेडले प्रस्ताव ल्याउँछु भन्नु भयो । त्यो ठिक छ । सबैमाथि छलफल गरौं ।’ कान्तिपुर दैनिकमा खबर छ ।