बेलायतमा मनाइयो महाकवि देवकोटाको जन्मजयन्ती

रासस

मंगलबार, ०२ मंसिर २०७७, ०८ : २०
बेलायतमा मनाइयो महाकवि देवकोटाको जन्मजयन्ती

लण्डन । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औँ जन्मजयन्तीको अवसरमा लण्डनस्थित नेपाली राजदूतावासले आइतबार साहित्य महोत्सवको कार्यक्रम आयोजना गरेको छ ।

तीन चरणमा सञ्चालित उक्त कार्यक्रममा बेलायतस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाली भाषा तथा साहित्यको विकासमा बेलायतमा रहेका कवि तथा साहित्यकारहरुले उनको योगदानको चर्चा गरेका थिए ।

लण्डनस्थित स्कुल अफ ओरियन्टल एण्ड अफ्रिकन स्टडिजबाट विद्यावारिधि गरि उक्त विश्वविद्यालयको  नेपाली एण्ड हिमालयन स्टडिज विभागमा रही नेपाली भाषा, साहित्यको अध्यापन गरी हाल अवकासप्राप्त डा माइकल हटले समग्र नेपाली साहित्यको विकासक्रमको चर्चा गरेका थिए । उनले नेपालका वरिष्ठ कवि तथा साहित्यकारको योगदानको चर्चा गर्दै उनका सिर्जनासमेत वाचन गरेका थिए ।

 प्रा. डा. सूर्यप्रसाद सुवेदीले महाकवि देवकोटाले नेपाली भाषा तथा साहित्यमा पु¥याएका विशेष योगदानको चर्चा गरे  । नेपाली साहित्य विकास परिषद् संयुक्त अधिराज्यका संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजङ्ग शाहले बेलायतमा नेपाली साहित्यको विकास र विस्तारसम्बन्धी आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज संयुक्त अधिराज्यका अध्यक्ष लक्ष्मी राई (लारा) ले बेलायतमा नारी हस्ताक्षरहरुको विषयमा जानकारी गराएकी थिईन् । कवि तथा साहित्यकार गोपी सापकोटाले बेलायतमा नेपाली साहित्यको वर्तमान अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बेलायतमा रहेका प्रतिनिधि नेपाली कवि तथा साहित्यकारहरुका रचनाहरु सम्मिलित डा दुबसु क्षेत्रीद्वारा सम्पादित ‘बेलायतमा नेपाली मुक्तक’ र ‘बेलायतमा नेपाली गजल’ तथा नेपालको सबैभन्दा पुरानो साहित्यिक मासिक पत्रिका ‘शारदा’को बेलायतमा नेपाली साहित्य विशेषाङ्क १ र २ को लोकार्पण गरिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस