प्रधानमन्त्री ओलीका दूतहरु धाउन थाले खुमलटार

विष्णु पौडेल पछि शंकर पोखरेल पुगे बिहानै प्रचण्ड निवास खुमलटार, दुई अध्यक्ष समझदारीमा आउनु पर्ने भन्दै पोखरेलले भदौं २६ को सहमति कार्यान्वयनमा लचक हुने सुनाए प्रधानमन्त्रीको सन्देश

सफल खबर संवाददाता

मंगलबार, २५ कार्तिक २०७७, ०९ : ४६
प्रधानमन्त्री ओलीका दूतहरु धाउन थाले खुमलटार

काठमाडौं । सत्तारुढ दल नेकपामा पार्टी बैठक बोलाउने विषयमा दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड)का बीचमा सहमति जुट्न सकेको छैन् । कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी बैठक बोलाउन सक्ने भएपनि पार्टीभित्रको एकता बचाउन उनले लचकताका साथ अझै पनि अर्का अध्यक्ष प्रधानमन्त्रीको समेत सहमति खोजिरहेका छन् । 

त्यसका लागि शनिबार प्रचण्ड सहितका बहुमत सचिवालय सदस्यहरु वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले हस्ताक्षर सहित बैठकको सहमति दिन ओलीलाई लिखित आग्रह नै गरेका छन् । तर प्रधानमन्त्री ओलीले त्यो आग्रहलाई पनि अटेर गरिरहेका छन् । ४८ घण्टाभित्र सहमति दिन नभए आफुहरु बैठकबाट अगाडी जान लागेको जानकारी नेताहरुले ओलीलाई दिएका छन् । तर ओलीले कुनै सरकारी हाकिमले जस्तो सहमतिका लागि आग्रह गरिएको नेताहरुको लिखित पत्रमा महासचिवलाई विधान बमोजिम प्रक्रिया अगाडी बढाउनु भनेर हस्ताक्षर गरि तोक आदेश लगाएका छन् ।

अचम्मको कुरा प्रधानमन्त्री ओलीले सहमति मात्र मागिएको पत्रलाई बैठक विधान अनुसार गर्नु भनेर महासचिवलाई तोक आदेश लगाई दिनुले ओलीको अहंम प्रष्टै देखिएको छ । त्यो भनेको ओलीले अझै पार्टी बैठक लतारेर लान खोजेको अर्थमा बुझ्न सकिने प्रचण्ड नेपाल समुहका नेताहरुको भनाई छ । ओलीले पार्टी विधानको ५९ (४) बमोजिम अगाडी बढाउन महासचिवलाई भनेका हुन् । त्यो भनेको पार्टीका केन्द्रीय समितिका २५ प्रतिशत नेताले बैठक माग गरेमा एक महिनाभित्र बोलाउने र अन्य कमिटिका २५ प्रतिशत नेताले बैठक माग गरे १५ दिनभित्र बोलाउने भन्ने विधानको ब्यवस्था हो । त्यसैमा टेक्न ओलीले खोजेका छन् ।

त्यो बीचमा अनेक फन्डा गर्ने, प्रचण्ड नेपाल समिकरणमा अनावश्यक अविश्वास र भ्रम सिर्जना गर्ने र टुटाउने फुटाउने रणनीतिमा लाग्न ओलीले समय खोजेका हुन् । तर ओलीको यस्तो शैलीको अध्यक्ष प्रचण्डले कडा जवाफ दिएको प्रचण्ड नेपाल समुहका एक स्थायी समिति सदस्यले बताए । ति नेताका अनुसार, महासचिव विष्णु पौडेल ओलीले तोक लगाएको पत्र बोकेर हिजो बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए । प्रचण्डले पौडेललाई स्पष्ट सन्देश दिएका थिए, –मंगलबार साँझ सम्म कुनै सहमतिमा ओली नआए आफुहरु बैठक बोलाएर अगाडी बढने र अब नरोकिने ।

प्रचण्डले पार्टी एकता बचाउनकै लागि आफुले धेरै मेहनत गरिरहेको, ओलीको तुच्छ आरोप र अभिब्यक्तिको पनि चुपचाप अपमान नै भएपनि सहेर धैर्यता देखाईरहेको र अब सिमा नाघेकोले झुकेर नबस्ने सन्देश सुनाईदिन महासचिवमार्फत पठाएका थिए । आज उनले बैठक माग गरिरहेका ५ नेताका बीचमा छलफल गरेर थप रणनीति बनाउने देखेपछि बालुवाटारले फेरि अर्का दूतलाई आज बिहानै खुमलटार पठाएको बालुवाटार स्रोतले बताएको छ । ओलीको संकटमा सधै अलराउन्डरको भूमिका खेल्दै आएका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई प्रचण्डसँग छलफलका लागि बालुवाटारले आज बिहान खुमलटार पठाएको स्र्रोतको भनाई छ । 

भदौं २६ को स्थायी समितिको सहमति अब कार्यान्वयन अक्षरसः गरेर जाने प्रतिबद्धता प्रधानमन्त्रीको तर्फबाट गर्ने र जारी विवाद हल गर्न समझदारीमा आईदिन आग्रह सहितको बालुवाटारका्े सन्देश लिएर पोखरेल खुमलटार गएको बताईएको छ । ओली पक्षले प्रचण्ड नेपाल समुह विभाजन गर्न बालुवाटारमा बसेर ओलीले प्रचण्डमाथी अनेक लाञ्छना र आरोप लगाउने र वरिष्ठ नेता नेपाल लगायत पूर्व एमाले समुहका नेतासँग हिमचिम बढाउने, जनताको बहुदलीय जनवादको अनावश्यक बहस चर्काउने सम्मको रणनीति अवलम्बन गरेपनि सफल नभएपछि सहमति कार्यान्वयनका लागि तयार छौं भन्ने सन्देश सहित पोखरेललाई दूतका रुपमा ओलीले खुमलटार पठाएको प्रधानमन्त्री ओलीका नीजि सचिवालय स्रोतले बताएको छ । 

प्रचण्डसँग पोखरेलले झण्डै दुई घण्टा खुमलटारमा छलफल गरेका छन् । उनी त्यो सन्देश बोकेर बालुवाटार मा ओलीसँग आजै भेट गर्ने तयारीमा छन् । विगतमा कार्यदलका सदस्यहरुले पनि त्यही भदौं २६ को सहमति कार्यान्वयनमा लैजान दबाब बढाउने रणनीति बनाएपनि प्रचण्ड निकटका नेताहरु जर्नादन शर्मा र पम्फा भुषाल बालुवाटार नगएपछि ओली पक्ष झन बढि अत्तालिएको छ । त्यही भएर पनि बालुवाटारले आफ्ना दूतहरुलाई खुमलटार निरन्तर पठाईरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस