समस्यामा परेका नागरिकलाई महानगरले खाना खुवाउँछ : मेयर शाक्य

सफल खबर संवाददाता

सोमबार, २४ कार्तिक २०७७, १६ : ५०
समस्यामा परेका नागरिकलाई महानगरले खाना खुवाउँछ : मेयर शाक्य

फाइल फोटो

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनाका कारण समस्यामा परेका नागरिकहरुलाई सुरक्षित स्थानमा राखेर खाना खुवाउने व्यवस्था महानगरपालिकाले गर्ने बताउनुभएको छ । 

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मेयर शाक्यले खुलामञ्चमा निःशुल्क खाना खुवाएको विषय सबैको सरोकार भित्र परेको भन्दै उहाँले त्यसलाई व्यवस्थित गर्ने पनि बताउनुभयो । कसैलाई पनि मागेर खानुपर्ने अवस्था आएमा त्यसको व्यवस्थापन महानगरले गर्ने उल्लेख गर्दै उहाँले खुलामञ्चको निःशुल्क खाना खुवाउने अभियानलाई पनि व्यवस्थापन गर्ने बताउनुभएको हो । अहिलेको अवस्थामा एक अर्कालाई दोषारोपण गर्नुभन्दा सबै मिलेर अगाडी बढ्नुपर्ने दायित्व भएको पनि उहाँले बताउनुभयो । खुलामञ्चमा अहिले आधा दर्जन संघ संस्थाहरुले खाना खुवाइरहेको आफ्नो जानकारी आएको उल्लेख गर्दै उहाँले भोजनको व्यवस्था गरिरहेका संघ–संस्था र व्यक्तिलाई उहाँहरु र खाना खानेलाई पनि पायक पर्ने गरी फरक–फरक ठाउँमा बन्द स्थानको छनोट गर्न आग्रह गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘उहाँहरुलाई खाना खानेलाई पायक पर्ने गरी फरक–फरक ठाउँमा बन्द स्थानको छनोट गर्नुहोस् भनेका छौँ । हामी ती ठाउँको भाडा तिर्न तयार छौँ । त्यति मात्र होइन । खाना खुवाउन आर्थिक अभाव भयो भने हामी खाद्यन्नको समेत व्यवस्थापन गर्न तयार छौँ । तर, यस्तो कोरोना कहरका बेला स्वास्थ्य मापदण्डको समेत ख्याल गरी खुला ठाउँमा खाना खुवाउनु हुन्न भन्ने हाम्रो चाहना हो ।’’

मेयर शाक्यले खाना खुवाउनकै लागि आर्थिक सहयोग र चन्दा माग्नुपर्ने आवश्यकता नरहेको भन्दै उहाँले सहयोग गर्न महानगर तयार रहेको पनि बताउनुभयो । श्रम गरी खानेहरुका लागि कुनै समस्या नभएको भन्दै श्रम गरी खानेहरुलाई प्रोत्साहन गर्न सबैसँग आग्रह गर्नुभयो । ‘‘काम नगरी खाने प्रवृत्तिको अन्त्य र श्रम गरी खानेलाई प्रोत्साहन गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । कोभिडका कारण रोजगारी गुमाएकालाई श्रममा आधारित रोजगारीका अवसर दिन महानगरपालिका तयार छ ।’’

उहाँले खुलामञ्चमा गएर आर्थिक सहयोग गर्ने सांसदहरु तर्फ संकेत गर्दै महानगरपालिकालाई असहयोग गर्ने गरी गरेको प्रचारले समस्या समाधान नहुने भएकाले सबै मिलेर उपाय खोज्नुपर्ने बताउनुभयो । संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको समन्वयमा पाँच हजार बेडको आइसोलेन वेड निर्माण गर्ने भनेको स्मरण गराउँदै कतिपय अवस्थमा महानगरपालिकाले नै निर्माण गर्ने भनी समाचार आएको र त्यसमा केही भ्रम पर्न गएको बताउनुभयो । महानगरपालिकालाई आर्थिक अभाव रहेकोले आवश्यक समन्वय भए जटिल समस्याहरुलाई समाधान गर्न आफुहरु रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस