बाइडनले जिते शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण हुने रिपब्लिकनका बरिष्ठ नेताको भनाई

एजेन्सी

शनिबार, २२ कार्तिक २०७७, १५ : ४७
बाइडनले जिते शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण हुने रिपब्लिकनका बरिष्ठ नेताको भनाई

बीबीसी । रिपब्लिकनका बरिष्ठ नेता मिच मक्कनलले राष्ट्रपतीय निर्वाचन जो बाइडनले जिते भने शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण हुने बताएका छन्।

उनको निर्वाचन क्षेत्र केन्टकीमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, “अवश्य पनि।”

“सन् १७९२ देखि हरेक चार वर्षमा सत्ताको शान्तिपूर्ण हस्तान्तरण हुँदै हामी नयाँ प्रशासनमा जाने गरेका छौँ,” मक्कनलले बताएका छन्।

डोनल्ड ट्रम्पले मिश्रित सन्देशहरू जारी गरिरहेका बेला मक्कनलको प्रतिक्रिया आएको छ।

राष्ट्रपति ट्रम्पले यो वर्षको शुरूतिर त्यस्तो हस्तान्तरणप्रति प्रतिबद्धता जनाउन अस्वीकार गरेका थिए, तर पछि गत महिना सहज हस्तान्तरणलाई समर्थन गर्ने बताएका थिए।

गत महिना ट्रम्पले भनेका थिए, “शान्तिपूर्ण हस्तान्तरण… म त्यस्तै चाहन्छु तर आदर्शत: म हस्तान्तरण चाहन्न किनभने म जित्न चाहन्छु।”

जोर्जियामा बाइडनको अग्रता बढ्दै
मतगणना भइरहेकामध्ये दुई उम्मेदवारबीच सबभन्दा कम मतान्तर देखिएको जोर्जिया राज्यमा जो बाइडनले अग्रता बढाउँदै लगेका छन्।

पछिल्लो गणनापश्चात् उनको अग्रता ४,००० बाट ७,२४८ पुगेको बीबीसीको आँकडामा देखिएको छ।

१६ इलेक्टोरल मत रहेको जोर्जिया परम्परागत रूपमा रिपब्लिकन राज्य मानिन्छ। यसअघि त्यहाँ सन् १९९२ को राष्ट्रपतीय चुनावमा मात्र डेमोक्र्याट उम्मेदवारले जितेका थिए।

मतगणना भइरहेकामध्ये सबभन्दा धेरै इलेक्टोरल मत रहेको पेन्सिल्भानिया राज्यमा बाइडनको अग्रता झन्डै २९हजार पुगेको छ। त्यहाँ जिते मात्रै पनि बाइडनले ह्वाइट हाउस जित्नेछन्।

पेन्सिल्भानिया राज्यका महान्यायाधिवक्ताका अनुसार त्यहाँको अन्तिम नतिजा स्थानीय समय शनिवार अबेरसम्ममा प्रस्ट हुनसक्छ ।