आईपीएल : मुम्बई दोश्रो वर्ष पनि फाईनलमा, दिल्ली हारेपनि फाईनलमा पुग्ने सम्भावना कायमै

सफल खबर संवाददाता

शुक्रबार, २१ कार्तिक २०७७, ०८ : ४२
आईपीएल : मुम्बई दोश्रो वर्ष पनि फाईनलमा, दिल्ली हारेपनि फाईनलमा पुग्ने सम्भावना कायमै

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा मुम्बई इन्डियन्स लगातार दोस्रो वर्ष प्रतिष्पर्धा गर्ने भएको छ । डिफेन्डिङ च्याम्पियन्स मुम्बईले बिहीबार एकतर्फी क्वालिफायर्स–१ मा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै फाईनलको यात्रा सुरक्षित गरेको हो ।

टस हारेपछि ब्याटिङमा गरेको मुम्बईले ५ विकेटको क्षतिमा २ सय रनको विशाल योगफल बनायो । प्रतिउत्तरमा खेलेको दिल्लीले खाता खोल्नु अघि नै पृथ्वी श, शिखर धवन र अजिन्का राहनेलाई गुमायो । दिल्लीले  २० ओभर खेल्दै ८ विकेट गुमाउदैं १ सय ४३ रन मै सिमित रह्न पुग्यो । 

ट्रेन्ट बोल्टले पहिलो ओभरमै श र धवनलाई आउट गरी डबल मेडन विकेट ओभर फालेका थिए । अर्को ओभरमा जस्प्रित बुमराहले राहनेलाई एलबीडब्लु आउट गर्दा दिल्लीको ३ विकेट गुम्दा कुनै रन थिएन । कप्तान श्रेयस ऐर १२ र ऋषभ पन्त पनि ३ रनमा आउट भए । मार्कुस स्टोइनिस र अक्षर पटेलले छैटौं विकेटमा ८१ रन जोडेपछि दिल्लीको स्कोर हेर्न लायक बनेको थियो ।

बुमराहको बलमा बोल्ड हुनु पूर्व स्टोइनिसले ४६ बलमा ६ चौका र ३ छक्काको मद्दतले ६५ रन बनाए । पटेलले ३३ बल खेली २ चौका र ३ छक्कासहित ४२ रन जोडी खेलको दोस्रो अन्तिम बलमा आउट भए । म्यान अफ द म्याच बुमराहले ४ ओभरमा १ मेडन राख्दै १४ रन खर्चेर ४ विकेट लिए । बोल्टले २ ओभरमा १ मेडन राख्दै ९ रन खर्चेर २ तथा क्रुनाल पाण्ड्या र किइरन पोलार्डले १र१ विकेट लिए ।

यता हारेपनि दिल्लीको फाइनलमा पुग्ने सम्भावना कायमै छ । शुक्रबार रोयल च्यालेन्जर्स बेङ्लोर र सनराइजर्स हैदराबाद बीच इलिमिनेटरको विजेताले दिल्लीसँग आइतबार क्वालिफायर्स २ मा खेल्ने छ । क्वालिफायर्स–२ को विजेताले मुम्बईसँग मंगलबार फाइनल खेल्ने छ । मुम्बईले गत वर्ष चेन्नई सुपर किंग्सलाई पराजित गरी उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस