इङ्गल्यान्डमा पुनः लकडाउन

एजेन्सी

आइतबार, १६ कार्तिक २०७७, २० : ५३
इङ्गल्यान्डमा पुनः लकडाउन

काठमाडौं । बेलायतले इङ्गल्यान्डमा राष्ट्रिय स्वास्थ्य सेवाका लागि ‘स्वास्थ्य तथा नैतिक सङ्कट’ रोक्न दोस्रो राष्ट्रव्यापी लकडाउन घोषणा गरेको छ । 

पछिल्लो निर्णय जारी गर्दै प्रधानमन्त्री बोरिस जोनसनले क्रिसमस ‘निकै फरक’ हुनसक्ने बताउनुभएको छ । उहाँले महामारी नियन्त्रणका लागि उठाइएको कदमका कारण उक्त पर्वका अवसरमा परिवारका सदस्यहरूबीच भेट हुनसक्ने वातावरण निर्माण हुनेमा विश्वास व्यक्त गर्नुभयो ।  

प्रधानमन्त्रीले रेष्टुरेन्ट, व्यायामशाला र अति आवश्यक सेवामा नपर्ने पसल सबै चार हप्ताका लागि बन्द गरिने बताउनुभयो । तर यस अघिको लकडाउनमा बन्द गरिएका विद्यालय र विश्वविद्यालयलाई यस पटक खुला रहन सक्नेगरी निर्णय सार्वजनिक गरिएको छ । 

पछिल्लो निर्णय अनुसार निर्माणस्थल र उद्योगहरू खुला रहन सक्नेछन्, छुट्टिएर बसेका बाबुआमा छन् भने छोराछोरी बाबु वा आमाकहाँ जान पाउनेछन् । जोखिममा रहेका मानिसहरूलाई विशेष सावधानी अपनाउन भनिएको छ ।

प्रधानमन्त्री जोनसनले भन्नुभयो, “यो वर्षको क्रिसमस असाध्यै फरक हुनेछ । तर अहिलेको कडा कदमपछि क्रिसमसका बेला परिवारका सदस्यहरूले भेटघाट गर्नसक्ने स्थिति आउन सक्छ ।”

प्रधानमन्त्रीले ‘डाउनिङ स्ट्रीट’मा पत्रकार सम्मेलनमा लकडाउनले व्यवसायमा पर्ने असरका लागि दुखी भएको भन्दै कामदारहरूलाई सरकारले काम नगरेपनि ८० प्रतिशत तलब दिने नीति नोभेम्बरसम्म जारी हुने बताउनुभयो ।

एप्रिलमाभन्दा अझ बढी सङ्क्रमण दर र मृत्यु दरका कारण नयाँ बन्दाबन्दीको घोषणा गरिएका बताउँदै उहाँले ‘कुनै पनि जिम्मेवार प्रधानमन्त्रीले’ त्यसलाई नजरअन्दाज गर्न नसक्ने धारणा राख्नुभयो । 

अहिले सङ्क्रमण तुलनात्मक रूपमा कम रहेको इङ्गल्यान्डको दक्षिण पश्चिमी क्षेत्रका अस्पताल समेत केही दिनमा बिरामीको चाप थेग्न नसक्ने अवस्थामा पुग्ने जोनसनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस