चितवनमा यो वर्ष धान उत्पादन घट्ने

प्रकाश सिग्देल

शुक्रबार, १४ कार्तिक २०७७, १२ : ४२
चितवनमा यो वर्ष धान उत्पादन घट्ने

चितवन । अन्नको भण्डार मानिने चितवनमा धानको उत्पादन घट्दै जान थालेको छ । जमिनको तीव्र खण्डीकरण र जथाभावी प्लटिङका कारण खुम्चिँदै गएको धान उत्पादनमा यस बर्ष आएको बाढी र रोग किराले थप असर गरेको छ । 

यस बर्ष चितवनमा १५ देखि २५ प्रतिशतसम्म धानको उत्पादन घट्ने अनुमान किसानहरुले गरेका छन् । तर कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले भने १० प्रतिशत जति घट्ने अनुमान गरेपनि अनुमानभन्दा केही बढी घट्न सक्ने बताउनु भयो । यस वर्ष भदौ महिनाको अन्तिमसम्म आएको बाढीले चितवनको अधिकांश क्षेत्रमा लगाइएको धानबाली डुबानमा पारेको थियो । केही क्षेत्रमा धानखेत नै बगाएका कारणले उत्पादन घट्ने अवस्था आएको र कतै रोग किरासमेत लागेर उत्पादनमा कमी आउने अवस्था देखिएको ढकाल बताउनु हुन्छ । यस बर्ष जिल्लामा धानको टुप्पो र गाँज मर्ने रोग पनि लागेको उहाँको भनाई छ । चितवनमा २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको ढकालको भनाई छ ।

पूर्वी चितवनको पिप्ले, कठार, कुमरोज, भण्डारा, बछौलीलगायतका क्षेत्रमा बढी धान उत्पादन हुने गर्छ । यो क्षेत्रमा अन्य क्षेत्रको तुलनामा सिँचाईको राम्रो सुविधा छ । पश्चिम चितवनमा धान खेती गर्ने क्षेत्र भए पनि सिँचाईको सुविधा उपलब्ध नहुँदा एक सिजन मात्रै आकाशे पानीको भरमा खेती गर्नेपर्ने बाध्यता छ । चितवनको धान उत्पादनले चितवनसहित विभिन्न पहाडी जिल्लाहरूलाई पनि धानेको छ । चितवनमा हुने उत्पादनको ३५ देखि ४० प्रतिशत उत्पादन साबित्री जातको धान मात्रै उत्पादन हुने कार्यालयले जनाएको छ । त्यसपछि राधा ४, हदीनाथ १, सावा मन्सुली, रामधान लगायतका धान पनि उत्पादन हुँदै आएको ढकाल बताउनु हुन्छ ।

बागमती प्रदेशका कृषि मन्त्री दावा दोर्जे लामाले मल, बीउ लगायतका समस्या किसानमा आएको र पानी बढी परेकाले धानबालीमा समस्या भएको बताउनु भयो । अब अर्गानिक मलमार्फत अर्गानिक बाली उत्पादनमा लाग्नु पर्ने र त्यसो गर्दा बाली पनि राम्रो हुने, रोग किरा पनि नलाग्ने र माटो पनि जोगिने भएकाले अब अर्गानिक मल कारखाना संचालन गरी अर्गानिक बाली उत्पादन गर्दै जानु पर्ने बताउनु भयो । प्रदेश सरकारले सामुहिक खेतीलाई प्रोत्साहन गरेको बताउँदै उहाँले थोरै खर्चमा धेरै उत्पादन लिने गरी अभियान थालेको बताउनु भयो । सबै किसानले सामुहिक खेती गरी कृषिमा यान्त्रिकरणमा जोड गर्नु पर्ने लामाको भनाई छ । 

अहिले राम्रो जातको बीउ नपाउनु नै उत्पादनमा कमि आउनुको मुख्य कारण भएको किसानहरु बताउँछन् । राम्रो जातको बीउ नपाइएको बिदेशी जातको बीउमा रोग र किराको बढी समस्या भएकाले धान उत्पादनमा समस्या सृजना भएको उद्योग बाणिज्य संघ चितवनका पूर्वअध्यक्ष मित्रराज दवाडीले बताउनु भयो । यो वर्ष चितवनका सबै क्षेत्रमा धानमा बाढी र रोग किराको समस्या रहेकाले उत्पादन घट्ने उहाँ बताउनु हुन्छ ।

पश्चिम चितवन देवनगरका किसान पदम बहादुर गुरुङले धानमा किरा लागेर धान सखाप भएको बताउनु भयो । गबारो र राते रोग लागेर गुबो कुहिएर धान पुरै भुसै भएको उहाँको भनाई छ ।

धान फल्ने खेत मासेर अनियन्त्रित प्लटिङ

धान वा अन्य खेतीबाट भन्दा जग्गा प्लटिङ गरेर मनग्ये आम्दानी गर्न सक्ने भएपछि चितवनमा जथाभावी प्लटिङको अभियान नै चलेको थियो । पछि कित्ताकाट रोकेपछि भने यो क्रम केही रोकिएपनि बिगतमा भएका प्लटिङकै कारण खेतीयोग्य जमिन मासिएको हो । 

भरतपुर महानगरपालिकाले खेतीयोग्य जमिन प्लटिङका लागि ठोस योजना नल्याउँदा त्यसको मार खेतीयोग्य जमिनमा परेको छ । खेतीयोग्य जमिन मासिँदै जाँदा उत्पादन पनि घट्दै गएको छ । अत्यन्तै घोल खेत र वर्षाको समयमा पूरै डुवान हुने क्षेत्रमा समेत प्लटिङ गरी घडेरी बनाइएको छ । जसले गर्दा चितवनमा धान उत्पादन बर्षेनी घट्दो छ । 

भरतपुर र आसपासका क्षेत्रका खेतमा सिँचाई गर्नका लागि बनाइएको नारायणी लिफ्टको नहर पुरेर बाटो बनाएपछि पनि भरतपुर र आसपासका क्षेत्रका खेतमा सिँचाईको समस्या भएपछि मानिसहरुले खेती गर्न छाडेका छन् । प्लटिङ गर्नेहरुले नहरलाई पुरेर बाटो बनाएर नहर छेउको खेतलाई धमाधम ग्राभेल हाली घडेरी बनाएर बिक्री गरेपछि बाँकी रहेको खेतमा पनि सिँचाईको अभाव भएको हो । सिँचाई नै नभएपछि मानिसहरुले धान खेती गर्ने भन्दा पनि घडेरी नै बनाउँदै लगेका छन् ।

प्रतिक्रिया दिनुहोस