बागमती प्रदेशमा धान उत्पादन वृद्धि

रासस

शनिबार, १२ पुस २०८२, ११ : ०९
बागमती प्रदेशमा धान उत्पादन वृद्धि

बागमती। बागमती प्रदेशका जिल्लाहरूमा यस वर्ष धानबाली उत्पादनमा सामान्य वृद्धि भएको छ । बागमती प्रदेश कृषि विकास निर्देशनालयका अनुसार बागमती प्रदेशका जिल्लामा अघिल्लो वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा शून्य दशमलव २५ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष बाढी पहिरोको प्रभाव कम परेको र रोग किराको प्रकोप पनि कम भएकाले धान उत्पादनमा वृद्धि भएको बागमती प्रदेशको कृषि विकास निर्देशनालयका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ नवीन कुँवरले जानकारी दिए ।

सूचना अधिकारी कुँवरका अनुसार बागमती प्रदेशमा चालु आर्थिक वर्ष २०८२र८३ मा कूल एक लाख आठ हजार ८२० हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा प्रतिहेक्टर ४ दशमलव १५ मेट्रिक टनका दरले चार लाख ५१ हजार ७८ मेट्रिक टन धान उत्पादन भएको छ ।

अघिल्लो आव २०८१र८२ मा कूल एक लाख पाँच हजार ४१५ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा प्रतिहेक्टर तीन दशमलव ८७ मेट्रिक टनका दरले चार लाख आठ हजार ३१६ मेट्रिक टन धान उत्पादन भएको थियो । यस्तै आव २०८०र८१ मा एक लाख नौ हजार हेक्टर १५१ क्षेत्रफलमा धानबाली लगाइएकामा चार लाख १३ हजार ९८८ मेट्रिक टन धान उत्पादन भएको थियो ।