दसैँमा फलफुल महँगो, पसलैपिच्छे फरकफरक भाउ

सफल खबर संवाददाता

आइतबार, ०९ कार्तिक २०७७, १६ : ४८
दसैँमा फलफुल महँगो, पसलैपिच्छे फरकफरक भाउ

काठमाडौँ । दशैंको बेला फलफूल जन्य वस्तुहरुको बजार महँगो भएको छ । अन्य समयमा एक सय रुपैयाँ प्रतिकिलो पाउने स्याउको मूल्य अहिले २ सय रुपैयाँ सम्म पर्ने गरेको छ । अझ पसलै पिच्छे फलफूलको भाउ फरक पर्दा उपभोक्ताहरु मारमा परेका छन् । 

चाडपर्वको बेला फलफूल, मिठाई, माछामासु लगायतको खपत बढी हुन्छ । त्यसैले यो समयमा त्यस्ता बस्तुहरुको मूल्य बजारै पिच्छे फरक पर्ने गरेको देखिन्छ । फलफूल चाडपर्वको बेलामा समान्यतया धेरै विक्री हुने बस्तु हो । आज हामी फलफूल बजारको अवस्था बुझ्न काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पुग्यौं । तर मूल्यमा एकरुपता पाउन सकिएन । एउटै जातको एक किलो स्याउको मूल्य एक सय ६० रुपैयाँ देखि २ सय रुपैयाँ सम्म परेको पाइएको छ ।

बजारमा भेटिएका उपभोक्ताहरु पनि मूल्यमा फरक पर्दा मार परेको गुनासो गरेका छन् । नयाँ बानेश्वर क्षेत्रमा भेटिएका उपभोक्ता ऋषिकेश पोखरलले सरकारले आफ्नो उपस्थिति बजारमा नदेखाउँदा पसलै पिच्छे मूल्यमा फरक परेको बताए । चाडपर्वको समयमा पनि सरकारले बजार अनुगमन नगरिदिदा महँगो मूल्य तिरेर फलफूल उपभोग गर्न बाध्य भएको उनले बताए ।

व्यापारीहरुले भने थोक होलसेल व्यापारीहरुका कारण खुद्रा बजारमा पसलै पिच्छे मूल्यमा फरक पर्ने गरेको बताएका छन् । आफुहरुले मूल्य बढाएको भन्दापनि होलसेल पसलले नै मूल्यमा एकरुपता कायम नगरिदिदा बजारमा पसलैपिच्छे फरक मूल्य देखिएको व्यापारीहरुको भनाई छ ।

नयाँ बानेश्वर क्षेत्रमा फलफूल व्यापार गदैं आउनुभएका पुजन कुमार शाहले भाउमा एकरुपता नहुनेको कारण होलसेल विक्रेताहरु नै रहेको बताए । होलसेल पसलमा नै एउटै जातको स्याउ प्रति पेटी १ हजार रुपैयाँ देखि १ हजार २ सय रुपैयाँ सम्म पर्ने भएकाले भाउमा फरक परेको बताए । यस्तै गत वर्षको तुलनामा यस वर्ष फलफूलको मूल्य झण्डै दोब्बर रहेको पनि उनले बताए। 

कालीमाटी फलफूल तथा तरकारी बाजार विकास समितिले आइतबारका लागि प्रति केजी स्याउको मूल्य औषतमा २ सय ४५ रुपैयाँ देखि ३ सय १० रुपैयाँ तोेकेको छ । त्यस्तै केरा प्रति दर्जन औषतमा ८५ रुपैयाँ र सुन्तला प्रति केजी ४८ रुपैयाँ थोक मूल्य तोकेको छ । भारतीय सुन्तला भने प्रति केजी १ सय ५ रुपैयाँ रहेको छ । त्यस्तै अनार ३ सय १० रुपैयाँ प्रतिकेजी रहेको छ ।