चितवन प्रहरीले समात्यो नक्कली नोटसहित एक जना कारोबारी

सफल खबर संवाददाता

विहीबार, ०६ कार्तिक २०७७, १४ : ३०
चितवन प्रहरीले समात्यो नक्कली नोटसहित एक जना कारोबारी

चितवन । कात्तिक चार गते दिउँसो । राप्ती नगरपालिका–५ भण्डाराको एक किराना पसलबाट प्रहरीलाई फोन आउँछ– ‘नक्कली नोट दिएर एक जना भाग्यो ।’ सूचना पाउनसाथ चितवन प्रहरीले प्रहरी निरीक्षक राजिव गिरीको कमाण्डमा नक्कली नोटको कारोबारीलाई समात्न तत्काल निर्देशन दियो । 

चितवन प्रहरीले नक्कली नोटको कारोबारी खोज्ने क्रममा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुर राक्सिराङ गाउँपालिका–८ हलिजेस्थित घरबाटै नक्कली नोटका कारोबारी २६ वर्षका जितबहादुर लोप्चनलाई पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

उनैको घरमा रहेको मकैको खलियाबाट प्रहरीले नक्कली नोट बरामद गरेको चितवनका प्रहरी प्रमुख एसपी नान्तिराज गुरुङले जानकारी दिए। घर भित्र मकैको खलियामा प्लास्टिकले बेरी लुकाइएको अवस्थामा तीन लाख २१ हजार रुपैयाँ नक्कली नोट बरामद गरेको चितवन प्रहरी प्रवक्ता सूर्यबाहदुर थापाले जानकारी दिए । 

लोप्चनले भण्डारास्थित युनिक होटलमा खाजा खाएबापत बुझाएको १ हजार रुपैयाँ र बर्तौला किराना पसलबाट खाद्यान्न सामान किनेबापत बुझाएको ६ हजार रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ । पूर्व–पश्चिम राजमार्गबाट साढे ४ घण्टा गाडी र डेढ घण्टा पदैलयात्रा गरेर प्रहरीले नक्कली नोटको कारोबारी लोप्चनलाई पक्राउ गरेको हो । 

लोप्चनलाई मुलुकी अपराध संहीता २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्रा सम्बन्धी कसुरमा थप अनुसन्धान प्रकृया अघि बढाइएको छ ।  प्रहरीले नक्कली नोटको मूख्य गिरोह पत्ता लगाउन बाँकी रहेको जनाएको छ । उक्त कसुर प्रमाणित भए संलग्न व्यक्तिलाई १० वर्ष कैद र १ लाख जरिबानासम्म हुन सक्ने कानुनमा उल्लेख छ ।  

प्रतिक्रिया दिनुहोस