काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीको व्यवहार दुरुस्त भयो भने सङ्गठनकै छवी उच्च हुने बताउनुभएको छ । उहाँले आम नागरिकलाई प्रहरीले गर्ने व्यवहार अझै बढी दुरुस्त, न्यायिक र निष्पक्ष हुनुपर्नेमा उहाँको जोड थियो ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित विशेष समारोहबीच सोही प्रतिष्ठानमा सञ्चालित ११८०औँ समूहको दीक्षान्त समारोहमा महानिरीक्षक थापाले दीक्षित भइ कार्यक्षेत्रमा खटिने प्रहरी कर्मचारीले देश र जनताको पक्षमा क्षमता देखाउने बेला आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “तपाईहरु नाम वा व्यक्ति मात्र नभई संस्था एवम् सार्वजनिक व्यक्ति हुनुभएको छ, संस्थागत व्यवहारप्रति सदैव संवेदनशील रहन आग्रह गर्दछु ।” कहिलेकाँही चुनौती अवसरको रुपमा पनि आउने र ती चुनौती तथा समस्याको समाधानका प्रयासले दीक्षित हुने प्रशिक्षार्थीको आगामी दिन निर्धारण गर्ने उहाँले बताउनुभयो ।
जनताले रुचाइएको, निष्पक्ष, प्रविधिमैत्री एवम् जनउत्तरदायी प्रहरीको रुपमा आफूलाई प्रस्तुत गर्न समेत दीक्षित प्रशिक्षार्थीलाई उहाँले निर्देशन दिनुभयो ।
समारोहमा कवाज प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक धर्मेन्द्र खड्का, शारीरिक व्यायाम तथा आत्मबल अभिवृद्धि प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक निरबहादुर बानिया, प्रहरी युक्ति तथा कारबाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक धर्मराज खत्री र चाँदमारी प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक प्रवेश कार्कीलाई उहाँले पुरस्कार प्रदान गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डीन डा हरिप्रसाद अधिकारीले प्रहरीलाई थप दक्ष एवम् सक्षम बनाउन समयानुकूल पाठ्यक्रम अबलम्बन गर्नुपर्ने बताउनुभयो । प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्नकुमार कार्कीले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीलाई सपथ ग्रहण गराउनु भएको थियो ।
विसं २०७६ वैशाख २३ गतेबाट सुरु भएको त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा संचालित पोष्ट ग्रेजुएट डिप्लोमा इन पुलिस साइन्स समावेश भएको उक्त तालिममा आठ महिलासहित कुल १०८ जना प्रहरी निरीक्षकको सहभागिता थियो । प्रशिक्षार्थीले कवाज प्रदर्शन तथा नेपाल प्रहरी सङ्गगीत विद्यालयद्वारा साङ्गीतिक धुन प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०५ कार्तिक २०७७, १९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी प्रदेश प्रहरी तालिम केन्द्रद्वारा ठेक्का सम्झौता रद्द
चितवनमा प्रहरीको ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
सशस्त्र प्रहरीको साहस र समर्पण: नागरिकको ज्यान जोगाउने हाम्रो पहिचान — राजु अर्याल
प्रहरीमा दिइएका निवेदन-जाहेरीको प्रगतिबारे अब फोन वा एसएमएसबाटै जानकारी
नेपाल प्रहरीमा जवान पदको माग संख्यामा वृद्धि
प्राविधिक प्रहरीतर्फ विभिन्न पदमा भर्ना खुल्यो